काठमाडौं ।
सामाजिक सञ्जालमा अपरिचित व्यक्तिसँग सुरु भएको सामान्य कुराकानी कसरी ठूलो आर्थिक ठगीको जालोमा परिणत हुन सक्छ भन्ने एउटा उदाहरण हुन् – दोलखा घर भई काठमाडौं बस्दै आएकी ‘इश्वरी तामाङ’ (नाम परिवर्तन) ।
निजी कम्पनीमा कार्यालय सहयोगीका रूपमा कार्यरत इश्वरीको मासिक तलब १८ हजार रुपैयाँ छ । तर, केही दिनको सामाजिक सञ्जालको कुराकानीकै भरमा उनले करिब पाँच लाख रुपैयाँ गुमाउनुप¥यो ।
घटना भदौ १० गतेबाट सुरु हुन्छ । इश्वरीको इन्स्टाग्राममा अपरिचित व्यक्तिको म्यासेज आयो–‘हाइ, आप कहाँ से हो ? म युरोपको डाक्टर हुँ । के हामी साथी बन्न सक्छौँ ? तपाईंको ह्वाट्सएप नम्बर दिनुहोस् ।’
इश्वरीले सहजै जवाफ दिइन् । त्यसपछि इन्स्टाग्राममा सुरु भएको कुराकानी ह्वाट्सएपमा पुग्यो ।
आफू युरोपमा डाक्टर रहेको दाबी गर्ने ती व्यक्तिले नियमित रूपमा आफ्ना फोटो तथा भिडियो पठाउन थाले । दुई–तीन दिनपछि उनले १५ दिनको बिदा हुन लागेको र बिदामा नेपाल घुम्न आउने बताए ।
‘नेपाल कस्तो छ ? घुम्न आउँदा कहाँ जाँदा राम्रो होला ?’ भन्दै उनले इश्वरीसँग सल्लाह मागे । आफूलाई ‘बेस्ट फ्रेण्ड’ भन्दै विश्वासको वातावरण बनाए ।
केही समयपछि उनले नेपाल आउने निर्णय गरेको बताए । ‘तिम्रो लागि के ल्याइदिऊँ ?’ भन्दै उनले किनमेल गर्न गएको भिडियो र फोटो पठाउन थाले ।
ती फोटोमा आइफोन १६ प्रो म्याक्स, सुनका गहना, महँगा कपडा, जुत्तालगायतका सामान देखिन्थे । सामान प्याक गरेको र नेपाल आउने टिकटसमेत तयार भएको फोटो उनले पठाए ।
भोलिपल्ट पोखरा विमानस्थल पुगेको भन्दै उनले फोटो र भिडियो पठाए । त्यसपछि भने ठगीको वास्तविक खेल सुरु भयो ।
उनले इश्वरीलाई फोन गरेर आफू नेपाल आए पनि ‘नेपाल घुम्ने अनुमति’ नलिएको भन्दै समस्या परेको बताए । त्यसका लागि ३८ हजार रुपैयाँ आवश्यक परेको र आफूसँग युरोपको पैसा मात्रै भएकाले तत्काल रकम पठाइदिन आग्रह गरे ।
‘मसँग लाखौँ रुपैयाँ छ, पैसा साटेर तिम्रो रकम फिर्ता गरिदिन्छु’ भन्दै उनले विश्वास दिलाए ।
इश्वरीले आफूले सकेको रकम जुटाएर ३८ हजार रुपैयाँ पठाइन्। तर त्यसपछि माग बढ्दै गयो ।
‘तिमीले पैसा पठाउन ढिला ग¥यौ’ भन्दै कहिले एक लाख ४५ हजार, कहिले दुई लाख रुपैयाँ मागियो । विमानस्थलका कर्मचारी भएको दाबी गर्ने व्यक्तिबाट समेत ह्वाट्सएपमा फोन गराइयो ।
इश्वरीले आफ्नो सुन धितो राखिन् । पछि सुन बेच्नुप¥यो । दिदीबहिनीबाट समेत ऋण लिएर रकम पठाइन् । विमानस्थलको प्रक्रिया मिलाउने नाममा उनले करिब चार लाख रुपैयाँ पठाइसकेकी थिइन् ।
तर ठगी त्यतिमै रोकिएन ।
केही समयपछि आफूलाई प्रहरीले पक्राउ गरेको, साथमा ठूलो रकम र सामान रहेकाले प्रहरीसँग प्रक्रिया मिलाउन पैसा चाहिएको भन्दै अर्को फोन आयो । प्रहरीको नाममा समेत ह्वाट्सएपबाट कुराकानी गराइयो । ह्वाट्सएप प्रोफाइलमा प्रहरी कार्यालयको लोगोसमेत राखिएको थियो ।
त्यसपछि प्रहरीलाई मिलाउने भन्दै थप एक लाख रुपैयाँ पठाइयो ।
यसरी पटक–पटक रकम पठाउँदै जाँदा इश्वरीले करिब पाँच लाख रुपैयाँ गुमाइसकेकी थिइन् । त्यसपछि फेरि अर्को सन्देश आयो–‘नेपालको हावापानीले बिरामी भएकाले अस्पताल भर्ना भएको’ र सामान तथा विदेशी पैसा प्रहरीले नियन्त्रणमा लिएको ।
अस्पतालको फोटोसमेत पठाएर प्रहरीसँगको प्रक्रिया मिलाउन थप ७ लाख ४० हजार रुपैयाँ आवश्यक परेको भन्दै तत्काल पैसा पठाउन दबाब दिइयो ।
अब भने इश्वरीलाई आफू ठगीमा परेको शंका लाग्यो । उनले कार्यालयमा आफूले विश्वास गर्ने साथीलाई सबै घटना सुनाइन् । साथीले थप पैसा नपठाउन र प्रहरीमा उजुरी गर्न सुझाव दिए ।
त्यसपछि रकम पठाएका भौचर, ह्वाट्सएपका कुराकानी र फोन नम्बरलगायतका प्रमाण संकलन गरेर उनी काठमाडौंस्थित नेपाल प्रहरीको साइबरसम्बन्धी अनुसन्धान गर्ने निकायमा पुगिन् ।
प्रहरीमा घटना सुनाउँदा उनलाई यस्ता घटना नयाँ नभएको जानकारी दिइयो । प्रहरीका अनुसार विदेशी नागरिक, डाक्टर, विमानस्थल कर्मचारी तथा प्रहरी अधिकारीको परिचय बनाएर सामाजिक सञ्जालमार्फत ठगी गर्ने गिरोह सक्रिय रहेको छ ।
उजुरी प्रक्रियाका क्रममा इश्वरीले आफूलाई सम्पर्क गरेका व्यक्तिहरूका मोबाइल नम्बर, रकम पठाइएका बैंक खाता विवरण, भुक्तानीका भौचर तथा ह्वाट्सएप कुराकानीका प्रमाण उपलब्ध गराइन् ।
प्रहरीबाट उनले थप जानकारीसमेत पाइन । यस्तै प्रकृतिका घटनामा पीडितबाट लाखौँदेखि करोडौँ रुपैयाँसम्म रकम ठगी भएको उजुरी आउने गरेका छन् । अनुसन्धानमा संलग्न प्रहरीका अनुसार कतिपय घटनामा पीडितबाट दुई करोड रुपैयाँसम्म रकम ठगी भएको पाइएको छ ।
इश्वरीको घटना एउटा उदाहरण मात्र हो । सामाजिक सञ्जालमा अपरिचित व्यक्तिले विदेशमा रहेको डाक्टर, व्यवसायी वा कुनै प्रतिष्ठित व्यक्तिको परिचय दिएर नजिकिने, महँगा सामान तथा ठूलो रकमको फोटो–भिडियो पठाएर विश्वास जित्ने र त्यसपछि विमानस्थल, भन्सार, प्रहरी, अस्पताल वा अन्य सरकारी प्रक्रियाको बहाना बनाउँदै रकम माग्ने शैलीको ठगी बढिरहेको देखिन्छ ।
‘साथी’ बनेर सुरु हुने कुराकानी अन्ततः ऋण, सुन बिक्री र लाखौँ रुपैयाँ गुमाउने अवस्थासम्म पुग्न सक्छ । त्यसैले सामाजिक सञ्जालमा अपरिचित व्यक्तिले देखाएको सम्पत्ति, परिचय वा पठाएको फोटो–भिडियालाई मात्र आधार बनाएर विश्वास गर्नु जोखिमपूर्ण हुन्छ ।