काठमाडौं । भारत सितामढीका गौरीशंकर राम चमार २७ चैत २०६४ को साँझ रौतहटको राजपुर फरहदबामा भएको घटना सम्झन पनि चाहँदैनन् । सम्झिउन् पनि किन ? त्यस दिन भएको अप्रिय घटनाको घाउले उनलाई अहिले पनि सहज रूपमा बाँच्न दिँदैन ।
आलम प्रकरणमा जो आफैं पर्याप्त प्रमाण हुन्
उनको जीवन नै नर्क बनाइदिएको छ, सो घटनाले । सम्झिनै नचाहने सो घटनालाई अहिले उनी नचाहँदा नचाहँदै सम्झन बाध्य छन् । कारण हो, उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले सो घटनामा जोडिएको व्यक्तिलाई दिएको सफाइ । गत १४ जेठमा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले सो घटनाका प्रमुख व्यक्ति अफ्ताब आलमलाई ‘प्रमाण नपुगेको’ भन्दै सफाइ दिएपछि गौरीशंकरको निन्द्रा बिथोलिएको छ ।
अदालतको फैसलालाई उनले सहज रूपमा लिन पनि सकेका छैनन् । त्यसैले उनले भारतबाट काठमाडौंसम्म आई त्यस दिनको घटना, घटनापछि आफूले पाएको पीडा, अदालतले आलमलाई सफाइ दिएपछि आफ्नो मनमा खेलेको बेचैनी सुनाएका छन् ।
त्यस दिन के भएको थियो ?
पीडित गौरीशंकरले भनेका छन्– ‘निर्वाचनको अघिल्लो दिन बेलुका ४–५ बजेतिर बम विस्फोट भएको हो । अफताब आलमको राजा चिम्नी भट्टामा, उहाँ (अफताब)लाई त्यहाँ देखिएन तर धेरै मान्छे त्यहाँ थिए । त्यस दिन म पनि पैसा लिन उनको घरमा गएको थिएँ । एक जनाले पैसा लिएर गइहाल भन्यो तर ढोकामा मात्रै पुगेको थिएँ, बम पड्कियो । आगो लागेपछि म भागें, घरपछाडि पानी थियो, मैले पानी हालेर फेरि भागें । त्यसपछि म बेहोस बनें । के भएको हो भनेर थाहा पाइनँ । एकैचोटि मेरो आँखा सीतामढीमा खुल्यो, जहाँ मेरो उपचार भइरहेको थियो ।’
उनले आफूले पनि धेरै मान्छे जलेका छन् भन्ने सुनेको तर घटना भइसकेपछि गाउँका मान्छेले उठाएर आफूलाई कसरी भारतको सीतामढीसम्म पु¥याए भन्ने आफूलाई थाहा नभएको बताए । ‘दुई जना मेरो गाउँको मान्छे पनि जल्या छन्, एउटाको हातमा र अर्काको खुट्टामा अलिकति लाग्या छ, म होसमा थिइनँ, त्यही भएर कति मान्छे घाइते भए मलाई थाहा भएन, बम त्यहाँ विस्फोट भएको छ, त्यही बम मलाई लागेको छ, मैले भनिरहेको छु ।’
गौरीशंकर यतिकैका रोकिएनन् । सो घटनाका ’boutमा आफूले प्रहरी कार्यालयमा बयान दिँदा आलमका मान्छेले आफू र आफ्नी आमालाई समेत धम्की दिएको र आफ्नो ज्यानै लिने धम्की दिएको पनि सुनाए ।
घटनाका पीडित गौरीशंकरले भने, ‘एसपी कार्यालयमा गएर सुरुसुरुमा मैले बयान दिएपछि म घरमा नहुँदा त्यसको (आलमको) आदमी गएर मेरो आमालाई भन्या छ, तिम्रो छोरा त गयो अब, तिम्रो छोरा दुई–चार–५ साल भएपछि बाँच्दैन ।’
अफ्ताव आलम जेलबाट छुटेपछि आफूलाई धेरै पीडा भएको, कुनै पनि बेला आफ्नो ज्यान जानसक्ने अवस्था रहेको पनि उनले सुनाए । गौरीशंकरले भने, ‘म यहाँ (भारतमा) काम गर्ने सिलसिलामा थिएँ, त्यसैबेला थाहा पाएँ अफ्ताब आलम छुट्यो भन्ने, मलाई दुःख लाग्यो, बम बनाएर, बम फाटेर हामी त्यस्तो पीडित मान्छे, त्यस्तो मान्छे छुट्यो अब धम्की पनि दिया छ, बाँच्दैन म, त्यस्तो मलाई लाग्या छ ।’
बम विस्फोटमा परी बालबाल बचे पनि आफ्नो दैनिकी सहज रूपमा नचलेको उनले बताए । आफ्नो शारीरिक अवस्था’bout बेलीविस्तार लगाउँदै उनले भने, ‘धेरै भारी काम गर्न सक्दिनँ, म थाकिहाल्छु, मैले काम पनि पाउन सक्दिनँ, काम भेटे पनि ७–८ दिन जति काम गराएर मान्छेले तिमी आफ्नो पैसा लिएर जाऊ भाइ तिमीलाई यहाँ काम मिल्दैन भन्छन्, यस्तो अवस्थामा छु म, जिउने कि मर्ने ? के गर्ने केही पनि देख्दिनँ म कसरी जिउँ म यस दुनियाँमा, म त तमासाजस्तो भइसकें, जहाँ गयो, यही मान्छे हो भन्दै मान्छेहरू फोटो खिच्न थाल्छन्, त्यही कमाइ गरेर उपचार गराउँछु, दुई बच्चा छन्, खर्च भइहाल्छ, बाँच्यो भने उपचार गराउँछु, नत्र गराउँदिन, हालसम्म साढे ३ लाख आईसी खर्च भयो, कसैले एक रुपैयाँ पनि खर्चस्वरूप दिएको छैन ।’
उनले पटकपटक आलमलाई नछोड्नुपर्ने बताए । ‘हामीजस्तो मान्छे पीडित भएका छौं, मेरो जिन्दगी बर्बाद भइसक्यो, यस्तो मान्छेलाई छोड्नुभएन, कडाभन्दा कडा सजाय दिनुप-यो ।’
सो घटनामा उनले पनि जाहेरी दिएका थिए । तर, उच्च अदालतले उनको जाहेरी र बयानलाई नै प्रमाणका रूपमा अस्वीकार गरेको छ । अदालतले उनले उपचार गरेको अस्पतालको कागजातको प्रेस्क्रिप्सनमा स्टोभ पड्केर घाउ खत लागेको भन्ने देखिएको हुँदा बम बिस्फोटको खत रहेको झुटा ठहर गरेको छ ।
तर, अदालतले गौरीशंकरको कुरालाई प्रमाणका रूपमा लिएन । बरू उनले अविश्वसनीय र कृत्रिम बयान विवरण अदालतमा दिएको भन्दै जाहेरी नै गलत घोषणा गरिदियो । ‘जाहेरी दरखास्तमा सो बम विष्फोटबाट घाइते भएकामा आफू बच्नका लागि करिब ७ सय मिटरसम्मको दूरीमा दक्षिण आइसकेपछि पूर्ण रूपले बेहोस भई भुइँमा लडेको, त्यसपश्चात् १५ देखि २० दिनपछि होसमा आउँदा भारतमा अस्पतालको बेडमा रहेको भनी खुलाएको, उनलाई उपचारका लागि बद्री रामले ल्याएको भनी आफ्नी आमाले भनेको जाहेरीमा खुलाएको देखिन्छ,’ गत १४ जेठमा उच्च अदालतबाट भएको फैसलामा लेखिएको छ, ‘अदालतसमक्ष बकपत्र गर्दा बम विष्फोटको छर्राले कान, छातीमा समेत आगो लागेको, ६–७ सय मिटर टाढा भागेर गई बेहोस अवस्थामा लडें, मेरो खल्तीबाट बिस्तारै डायरी निकाली मेरो डायरीको नम्बरमा फोन गर्दा मेरो भाइको ससुरा आई भारतको सीतामढी अस्पतालमा लगी २०–२२ दिनपछि होस आउँदा आफू अस्पताललमा रहेको थाहा भयएको भनेको देखिन्छ ।’
बेहोस भएर लडेको व्यक्तिले कसरी फोन गर्छ भनेर प्रश्न उठाउँदै फैसलामा लेखिएको छ, ‘निजले बेहोसी अवस्थामा डायरी निकाली भाइको ससुरालाई फोन गरी अस्पताल लगेको भनी जाहेरी दरखास्तभन्दा फरक बेहोरा उल्लेख गरेको देखिन्छ । बेहोस भई लडेर २०–२२ दिनपछि मात्र होस खुलेको व्यक्तिले बेहोसी अवस्थामा भाइको ससुरालाई फोन गरेको कुरा विश्वासनीय देखिन आएन ।’
नेपाली कांग्रेसका नेता आलम त्यसबेला सो क्षेत्रबाट उम्मेदवार बनेका थिए । भोलिपल्ट निर्वाचनका दिन बम पड्काएर बुथ क्याप्चर गर्ने रणनीति बनाइएको थियो । त्यसको तयारीस्वरूप आलमका काका शेख इद्रिसको घरमा बम बनाउने काम भइरहेको थियो । यसका लागि छिमेकी देश भारतबाट समेत मान्छे झिकाइएको थियो । आलममाथि बम विस्फोटपछि त्यहाँ घाइते भएकाहरूलाई इट्टा भट्टामा समेत हालेर ज्युँदै जलाइएको आरोप लागेको थियो ।
घटनाको १२ वर्षपछि रौतहट प्रहरीले आलमलाई १९ असोज २०७६ मा पक्राउ गरेको थियो । उनी र उनका केही सहयोगीविरुद्ध घाइतेलाई नजिकैको इँट्टाभट्टामा जिउँदै जलाएर हत्या गरिएको आरोप थियो । उनीहरुविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोटसम्बन्धी कसुर गरी तीनवटा मुद्दा दायर गरिएको थियो । थुनछेक बहसपछि जिल्ला अदालत रौतहटले २९ कात्तिक २०७६ मा आलमलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
तर, उनै आलमलाई गत १४ जेठमा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले सफाइ दिएको थियो । उच्च अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारु र अर्जुन महर्जनले उनलाई सफाइ दिएका थिए । उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले आलमसहित चार जनालाई १४ जेठमा सफाइ दिँदा न्यायाधीशद्वय थारू र महर्जनले विस्फोट नै भएको हो वा होइन भन्ने आधार नदेखिएको भन्दै फैसला गरेको थियो ।
आलमलाई सफाइ दिने उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जको पूर्णपाठमा बम विस्फोट भएको प्रमाणको अभावमा घटना भएको पुष्टि नभएको, शव जलाइएको पुष्टि नभएको, साक्षीले फेरेको बयान आदिलाई आधार मानिएको छ । मारिएका व्यक्तिको वारदात (इँटाभट्टा)मा मृत्यु भएको पुष्टि हुन नसकेकाले प्रतिवादीले सफाइ पाउने फैसलाको पूर्णपाठमा उल्लेख छ ।
विस्फोटको घाइते भनिएका पिन्टु भन्ने त्रिलोकप्रताप सिंह र ओसी अख्तरलाई ट्र्याक्टरमा हाली राजा इँटा भट्टामा लगी पोलेको भन्ने ठोस सबुद प्रमाण वादी (सरकारी वकिल)ले पेस गर्न नसकेको र विधि विज्ञान परीक्षण प्रतिवेदनबाट समेत नदेखिएकाले मृतकहरूलाई इँटाभट्टामा पोलिएको अभियोग दाबी पुष्टि हुन नसकेको पूर्णपाठमा भनिएको छ ।
फैसलामा भनिएको छ, ‘माथि विवेचित आधार र कारणबाट प्रस्तुत मुद्दामा मिति २०६४–१२–२७ मा बम विस्फोटको वारदात भएको भनिएकामा सो वारदात अनुसन्धानबाट पुष्टि हुन नसकेको, सो विषयमा जाहेरी परी अनुसन्धान भई मारिएका भनिएका व्यक्तिहरूको मृत्यु भएको भन्ने यकिन साथ पुष्टि हुन नसकेको भनी महान्यायाधिवक्ता कार्यालयबाट मिति २०६५–०३–३० मा कसैउपर मुद्दा नचलाउनेगरी निर्णय गरेको देखियो ।’
फैसलामा थप भनिएको छ, ‘सम्मानित सर्वोच्च अदालतबाट सो मिति २०६५–०३–३० को निर्णय बदर गरी पुनः प्रमाण बुझी प्रचलित कानुनबमोजिम गर्न गराउन मिति २०६९–०२–१६ मा परमादेश जारी भई मिति २०७५–१२–११ मा पुनः अनुसन्धान भएको देखिन्छ । संकलित सबुद प्रमाणबाट मोहम्मद अफताब आलमको घरमा मिति २०६४–१२–२७ मा बम विस्फोटको वारदात वस्तुनिष्ठ प्रमाणले पुष्टि हुन नसकेको, विस्फोटको घाइते भनिएका पिन्टु भन्ने त्रिलोकप्रताप सिंह र ओसी अख्तरलाई ट्र्याक्टरमा हाली राजा इँटाभट्टामा लगी पोलेको भन्ने ठोस सबुद प्रमाण वादीले पेस गर्न नसकेको र विधि विज्ञान परीक्षण प्रतिवेदनबाट समेत मृतकहरूलाई इँटा भट्टामा पोलिएको अभियोग दाबी पुष्टि हुन नसकेको अवस्थामा सुरु रौतहट जिल्ला अदालतबाट प्रतिवादीहरू मोहम्मद अफताब आलम, मोहम्मद महताब आलम, शेख सेराज भन्ने शेष सराज र बद्री सहनीलाई तत्काल प्रचलित मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(३) बमोजिम कसुर ठहर गरी जन्मकैद हुने ठहर गरेको र विस्फोटक पदार्थ ऐन, २०१८ को दफा १०(१) (ख) बमोजिम जनही १ वर्ष कैद र रु.१०,०००–– (अक्षरुपी दस हजार रुपैयाँ मात्र) जरिवाना हुने ठहर गरी मिति २०८१–०१–१३ मा भएको फैसला मिलेको नदेखिँदा उल्टी भई सबै प्रतिवादी मोहम्मद अफताब आलम, मोहम्मद महताब आलम, बद्री सहनी र शेख सेराज भन्ने शेष सराजले आरोपित कसुरबाट सफाइ पाउने ठहर्छ, वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन ।’
सो घटनामा प्रमाण नपुगेको भन्दै न्यायाधीशद्वयले सफाइ दिएपछि उनीहरूको आलोचनासमेत भइरहेको छ । उनीहरू दुवै जना न्यायपरिषद् तानिइसकेका छन् । जिल्ला अदालत रौतहटले भने उनलाई जन्मकैदको सजाय सुनाएको थियो ।