काठमाडौँ ।
सुदूरपश्चिमका लोकप्रिय युवा कलाकार अमृत नाथले नयाँ देउडा गीत ‘साथी भाइलाई सम्झना छ’ सार्वजनिक गरेका छन् । पछिल्लो समय विभिन्न मेला–महोत्सवमा व्यस्त रहँदै आएका नाथले यो गीतमार्फत आफ्नो व्यक्तिगत अनुभव र समकालीन यथार्थलाई कलात्मक ढङ्गमा प्रस्तुत गर्दै उनि मंगलबार शैक्षिक भिसामा जापान गएका हुन् ।
जापान प्रस्थान गर्नुअघि सार्वजनिक गरिएको यस गीतमा नाथले विदेशिनुपर्ने बाध्यता र मित्रताको स्मृतिलाई सदासर्वदा जीवित राख्ने भावना अभिव्यक्त गरेका छन् । गीतले युवाहरूको मनोवैज्ञानिक संघर्ष, स्वदेशमै आत्मनिर्भर बन्ने चाहना र परिस्थितिले विदेशिन बाध्य बनाउने अवस्थालाई संवेदनशील ढङ्गमा चित्रण गरेको छ ।
गीतमा अमृत नाथ र इब्सल संज्यालको सुमधुर स्वर सुन्न सकिन्छ । शब्द भानुभक्त जोशी र अमृत नाथले लेखेका हुन् भने संगीत संयोजन, मिक्सिङ र मास्टरिङ रिजन बडुले गरेका छन् । गीतको रेकर्डिङ पनि बडुकै स्टुडियोमा सम्पन्न भएको हो ।
गीतको भिडियोतर्फ, निर्देशन, छायांकन र सम्पादन पुष्कर नाथले गरेका छन् । भिडियोमा अमृत नाथ र इबसल संज्यालले अभिनय गरेका छन् । गाउँघरको परिवेश, विदेशिने तयारी र बिछोडका भावनात्मक दृश्यहरूले गीतलाई अझै हृदयस्पर्शी बनाएको छ ।
कलाकार नाथका अनुसार, “देशभित्रको अनिश्चितता र युवा पुस्ताको निराशा देख्दा विदेशी यात्रा गर्नुपरेको हो ।” नेपालमै कलाकारीतासंगै व्यवसाय अगाडि बढाउने सपना साँचेका भए पनि देशको अवस्थाले त्यो बाटो रोकिदिएको उनि बताउँछन् । “अहिले ५बर्षको भिसा तय भएको छ, पढाई सकिएपछि थप्न पनि सकिन्छ, उतै व्यवसाय सञ्चालन गरेर बस्न वा के गर्ने भन्ने कुरा भविष्यको अवस्थाले तय गर्नेछ उनले भने ।”
देशको अस्थिर राजनीतिक अवस्था र सीमित अवसरका कारण आज पनि धेरैजसो युवाहरू परदेशमा श्रम गर्न बाध्य छन्, र यो गीत त्यसैको भावनात्मक प्रतिबिम्ब हो ।