काठमाडौं। विमानस्थलबाट विदेश यात्रा गर्दा आफ्नो सामान हराउनु वा छुट्नु यात्रुका लागि निकै तनावपूर्ण अवस्था हो। विशेषगरी विदेश जाने तयारीमा रहेका यात्रुले आफ्नो लगेज हराएको थाहा पाउँदा भोग्नुपर्ने मानसिक तनाव र अन्योल सहजै अनुमान गर्न सकिन्छ। तर, त्यही तनावपूर्ण परिस्थितिमा सहयोगी हात र जिम्मेवार व्यवहार पाउँदा सार्वजनिक सेवाप्रतिको दृष्टिकोण नै परिवर्तन हुन सक्छ।
यस्तै एउटा सुखद अनुभव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको छ।
२०८३ साल कार्तिक ३० गते राति १०:४५ बजे क्याथे प्यासिफिक एयरलाइन्समार्फत हङकङ हुँदै जापान जाने क्रममा मेरी बहिनी रीता के=सी=को लगेज विमानस्थलको चेकिङ प्रक्रियाका क्रममा छुटेको रहेछ । यात्राको तयारी, अन्तर्राष्ट्रिय उडान र गन्तव्यसम्म पुग्ने योजनाबीच लगेज छुटेको जानकारीले स्वाभाविक रूपमा चिन्ता र अन्योल सिर्जना गर्यो ।
लगेज छुटेको जानकारी पाएपछि भोलिपल्ट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलस्थित नागरिक सहायता कक्ष पुगियो । त्यहाँ नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक चित्रबहादुर कार्की ड्युटीमा हुनुहुन्थ्यो ।
सामान हराएको विषय सुनाउनेबित्तिकै उहाँले देखाउनुभएको व्यवहारले पहिलो भेटमै सकारात्मक प्रभाव पार्यो । ‘प्रहरी मेरो साथी’ भन्ने नारालाई व्यवहारमै उतार्दै उहाँले हराएको लगेजको विवरण लिनुभयो, आवश्यक सोधपुछ गर्नुभयो र सम्भावित स्थानबारे सम्बन्धित निकायमा टेलिफोनमार्फत जानकारी लिन थाल्नुभयो ।
उहाँको प्रयास र सहयोगका बाबजुद तत्काल लगेजको अवस्थाबारे जानकारी प्राप्त हुन सकेन । त्यसपछि सीसीटीभी फुटेजमार्फत खोजी गर्ने सुझाव आयो । आवश्यक प्रक्रिया पूरा गरी फाराम भरेर पास लिइयो र सीसीटीभी कक्षतर्फ लागियो ।
सीसीटीभी कक्षमा पुगेपछि नेपाल प्रहरीका कर्मचारीहरू रामकुमार खत्री, निर्मल परियार र कृष्णमान शाक्यसँग भेट भयो । उनीहरूले पनि उत्तिकै आत्मीयता, धैर्य र व्यावसायिक दक्षताका साथ सहयोग गरे । प्रविधिको प्रयोग गरी सम्बन्धित समय र स्थानका दृश्यहरू अध्ययन गर्ने क्रममा अन्ततः हराएको लगेज फेला पार्न सफल भइयो ।
लगेज फेला परेपछि हराएको सामान प्राप्त भएको खुसी त छँदै थियो, त्योभन्दा महत्वपूर्ण सार्वजनिक सेवाप्रतिको सकारात्मक अनुभूति थियो । बिहानदेखि सुरु भएको खोजी र विभिन्न प्रक्रियापछि बेलुका करिब ५ बजे सन्तुष्टिका साथ घर फर्किने अवसर मिल्यो ।
नेपाल प्रहरीप्रति समाजमा कहिलेकाहीँ नकारात्मक धारणा र आलोचना सुनिने गर्छन् । तर, कुनै पनि संस्थाको मूल्याङ्कन केही सीमित अनुभवका आधारमा मात्र गर्नु उचित हुँदैन भन्ने यस घटनाले सिकाएको छ । जिम्मेवार नेतृत्व, सेवाभाव, दक्ष जनशक्ति र प्रविधिको उचित प्रयोग हुन सकेमा सार्वजनिक निकायले नागरिकलाई प्रभावकारी सेवा दिन सक्छन् भन्ने कुराको यो एउटा उदाहरण हो ।
विशेषगरी विमानस्थलजस्तो संवेदनशील र व्यस्त क्षेत्रमा नागरिकको समस्या सुन्ने, तत्काल पहल गर्ने र प्रविधिको माध्यमबाट समाधान खोज्ने प्रहरी कर्मचारीहरूको भूमिका प्रशंसनीय छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हराएको लगेज भेटिनु एउटा सामान्य घटना जस्तो लाग्न सक्छ । तर, त्यससँग जोडिएको नेपाल प्रहरिको सहयोग, सद्भाव र व्यावसायिक दक्षताको अनुभव भने लामो समयसम्म स्मरणीय रहनेछ।
‘प्रहरी मेरो साथी’ भन्ने नारा केवल प्रचारको विषय होइन, व्यवहारमा अनुभूत गर्न सकिने वास्तविकता पनि रहेछ भन्ने विश्वास लिएर घर फर्किएँ ।