बैतडी ।
बैतडीको सिगास गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा उपस्थित नहुँदा गाउँपालिकाको प्रशासनिक तथा आर्थिक कामकाज प्रभावित भएको छ । दसैँ बिदा सकिएको एक साता बितिसक्दा पनि प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा हाजिर नभएपछि सेवाग्राही तथा स्थानीयवासीले सास्ती भोग्नुपरेको गुनासो गरेका छन् ।
गाउँपालिका अध्यक्षले दसैँ बिदा सकिएको तीन दिनभित्र कार्यालयमा उपस्थित हुन कर्मचारीलाई पत्राचार गरे पनि प्रमुख प्रशासकीय अधिकृत शंकरबहादुर बोहरा भने हालसम्म कार्यालयमा उपस्थित भएका छैनन् । कात्तिक ८ गते दसैँ बिदा सकिएको भए पनि कात्तिक १६ गतेसम्म उनी कार्यालयमा हाजिर नभएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष हरिसिंह धामीका अनुसार कात्तिक १० गते नै सबै कर्मचारीलाई तीन दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको थियो ।
अध्यक्ष धामीले चालु आर्थिक वर्षका कामले अपेक्षित गति लिन नसकिरहेको अवस्थामा प्रमुख प्रशासकीय अधिकृतको अनुपस्थितिले थप समस्या सिर्जना गरेको बताए । उनका अनुसार यो महिना गाउँपालिकाले कामको नतिजा देखाउनुपर्ने महत्त्वपूर्ण समय हो ।
सामाजिक सुरक्षा भत्ता वितरण, ठेक्का आह्वान, पुराना भुक्तानी, योजना सम्झौता तथा कर्मचारीको तलब भुक्तानीलगायतका प्रशासनिक र आर्थिक काम अघि बढाउन प्रमुख प्रशासकीय अधिकृतको उपस्थिति अनिवार्य हुने अध्यक्ष धामीको भनाइ छ ।
‘समयमै सबै कर्मचारी कार्यालयमा उपस्थित भइदिएको भए कामकाज सहज रूपमा अघि बढ्ने थियो,’ अध्यक्ष धामीले भने । धामीले कर्मचारी अभाव र लापरवाहीका कारण स्थानीय तहले निर्धारित लक्ष्य हासिल गर्न नसकेको बताए । कर्मचारीकै कारण लक्ष्यअनुसार काम सम्पन्न गर्न कठिनाइ हुनुका साथै विवाद र बेरुजुका समस्या पनि देखिने गरेको उनको भनाइ छ । सिगास गाउँपालिकाले विगतदेखि नै पटक-पटक कर्मचारी अभावको समस्या झेल्दै आएको उनले बताए ।
प्रमुख प्रशासकीय अधिकृतको अनुपस्थितिले गाउँपालिकाका नियमित प्रशासनिक सेवा प्रवाहसँगै विकास निर्माणसम्बन्धी कामसमेत प्रभावित भएका छन् । प्रमुख प्रशासकीय अधिकृत बोहरा उपस्थित नभएको अवस्थामा बिदामा बस्ने जानकारी समेत गराएका छैनन् ।