बैतडी ।
नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले बैतडीमा जिल्ला अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनबाट जिल्ला सभापतिमा वीरबहादुर विष्ट चयन भएका छन् ।
अधिवेशनले जिल्ला कार्यसमितिका विभिन्न पदमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । उपसभापतिमा रमेश दत्त पाण्डेय र रमेश सिंह भण्डारी चयन भएका छन् । त्यस्तै, सचिवमा लालबहादुर चन्द र महेश दत्त भट्ट तथा सहसचिवमा वीरबहादुर गडाल र भानदेव भट्ट चयन भएका छन् ।
अधिवेशनबाट प्रदेश सभा क्षेत्र ‘क’ र ‘ख’ मा समेत नयाँ नेतृत्व चयन गरिएको छ ।
प्रदेश सभा क्षेत्र ‘क’ को सभापतिमा रिकेशबहादुर बोहोरा चयन भएका छन्। उपसभापतिमा जोगा सिंह साउद र उत्तरबहादुर चन्द, सचिवमा डम्मरे कुँवर र अम्बादत्त पन्त तथा सहसचिवमा गणेशदत्त भट्टराई र हजारि महरा चयन भएका छन् ।
त्यसैगरी, प्रदेश सभा क्षेत्र ‘ख’ को सभापतिमा भरत सिंह पुजारा चयन भएका छन्। उपसभापतिमा देवबहादुर चन्द र भीमराज भट्ट, सचिवमा डम्बरदत्त कलौनी र राजेन्द्र जोशी तथा सहसचिवमा रतन सिंह कार्की र शुक्र सिंह महता चयन भएका छन् ।
अधिवेशनबाट ३५ जना महाधिवेशन प्रतिनिधि तथा दुवै प्रदेश सभा क्षेत्रबाट २१र२१ जना प्रदेश अधिवेशन प्रतिनिधि पनि चयन भएका छन् ।
नेतृत्व चयनका क्रममा सहमति जुटाउन वीरबहादुर विष्ट, शिवराज भट्ट, अशोक सिंह विष्ट र दीपकबहादुर बम सम्मिलित चार सदस्यीय कार्यदल गठन गरिएको थियो । कार्यदलका सदस्य अशोक सिंह विष्टका अनुसार उक्त कार्यदलको पहलमा सहमतिका आधारमा नेतृत्व चयन गरिएको हो ।
अधिवेशनबाट चयन भएको नयाँ नेतृत्वले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै जिल्लामा नेपाली कांग्रेसका गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ। नेपाली कांग्रेसभित्रको आन्तरिक राजनीतिक प्रतिस्पर्धाका बीच बैतडीमा देउवा पक्षले आफ्नो नेतृत्व चयन गरेको हो ।