बैतडी — बैतडीको सुर्नया गाउँपालिकाको अध्यक्ष पदमा युवा नेता प्रकाश कुँवरले उम्मेदवारी दिने घोषणा गरेका छन्। पूर्व अनेरास्ववियु केन्द्रीय सदस्य, पूर्व बैतडी–काठमाडौं सम्पर्क मञ्चका कोषाध्यक्ष तथा हाल प्रदेश सम्पर्क मञ्चका सदस्य रहेका कुँवरले गाउँपालिकाको विकास, सुशासन र समृद्धिलाई प्राथमिकतामा राख्दै अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका हुन्।
कुँवरले सुर्नया गाउँपालिकालाई विकास, सुशासन र समृद्धिको दिशामा अघि बढाउने लक्ष्यसहित आफूले उम्मेदवारी दिने निर्णय गरेको बताएका छन्। गाउँपालिकावासीले विश्वास गरेर नेतृत्व गर्ने अवसर दिएमा जनताको आवश्यकता, समस्या र अपेक्षालाई केन्द्रमा राखेर काम गर्ने उनको भनाइ छ।
उनले रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा, कृषि आधुनिकीकरण, पर्यटन प्रवर्द्धन तथा स्वच्छ खानेपानी र विद्युत्को पहुँच विस्तारलाई आफ्नो प्रमुख प्राथमिकतामा राखेका छन्। पाँच वर्षभित्र प्रत्येक घरमा कम्तीमा एक जनालाई रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्य रहेको उल्लेख गर्दै उनले स्थानीय स्रोत, साधन र सीपको अधिकतम उपयोग गर्ने योजना सुनाएका छन्।
कृषिलाई उत्पादनमुखी बनाउने, स्थानीय सीपलाई श्रमसँग र श्रमलाई बजारसँग जोड्ने तथा युवालाई आफ्नै गाउँमा रोजगारी र उद्यम गर्ने वातावरण निर्माण गर्ने आफ्नो मुख्य एजेन्डा रहेको कुँवरले बताएका छन्। उनका अनुसार स्थानीय सम्भावनाको पहिचान गरी उत्पादन र आर्थिक गतिविधि बढाउन सके गाउँपालिकाको समग्र विकासमा सहयोग पुग्नेछ।
भौगोलिक विकटताका कारण गाउँपालिकाका विभिन्न क्षेत्रमा शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी तथा विद्युत् सेवाको पहुँचमा समस्या रहेको उल्लेख गर्दै उनले यस्ता समस्याको दीर्घकालीन समाधानका लागि योजनाबद्ध विकास आवश्यक रहेको बताएका छन्।
कुँवरले विकास निर्माणमा पारदर्शिता, सार्वजनिक सेवामा सहजता, भ्रष्टाचार नियन्त्रण, जनउत्तरदायी नेतृत्व र नागरिकको प्रत्यक्ष सहभागितालाई सुशासनका प्रमुख आधारका रूपमा अघि सारेका छन्। गाउँपालिकामा रहेका समस्याको पहिचान गरी प्राथमिकताका आधारमा समाधान गर्ने र नागरिकले प्रत्यक्ष अनुभूति गर्न सक्ने परिवर्तनका लागि काम गर्ने उनको प्रतिबद्धता छ।
राज्य व्यवस्था र राजनीतिक संरचनामा परिवर्तनको पक्षमा आफूले लामो समयदेखि भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै कुँवरले अब स्थानीय तहबाटै जनताको सेवा गर्ने इच्छा व्यक्त गरेका छन्।
“मेरो उद्देश्य पद प्राप्त गर्नु मात्रै होइन, सुर्नया गाउँपालिकाको विकास, सुशासन र समृद्धिका लागि काम गरेर परिणाम देखाउनु हो। जनताले विश्वास गरेर जिम्मेवारी दिएमा आफ्नो कामबाट प्रतिबद्धता प्रमाणित गर्नेछु,” उनको भनाइ छ।
गाउँपालिकाको समग्र विकास, युवाका लागि रोजगारी, कृषि क्षेत्रको रूपान्तरण र नागरिकलाई सहज सार्वजनिक सेवा उपलब्ध गराउने एजेन्डासहित अध्यक्ष पदमा उम्मेदवारी दिने तयारीमा रहेका कुँवरले जनताको साथ र समर्थनको अपेक्षा गरेका छन्।
उनको उम्मेदवारी घोषणासँगै सुर्नया गाउँपालिकाको आगामी नेतृत्व र विकासका प्राथमिकताबारे स्थानीय राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ।