काठमाडौं ।
नेपालको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार प्रवेशका लागि निश्चित मापदण्ड तोकिएको छ । सरकारी कर्मचारी, पत्रकार तथा कानुन व्यवसायीलाई प्रवेशमा सहजता भए पनि सर्वसाधारणले सम्बन्धित मन्त्रालय वा निकायबाट पास प्राप्त गरेपछि मात्रै सिंहदरबार प्रवेश गर्न पाउँछन् ।
तर, साविक मदनपोखरा गाविस–१, पाल्पा घर भई हाल ललितपुर बस्दै आएका भेषराज लुइँटेल भने बिदाका दिनबाहेक अधिकांश समय सिंहदरबारभित्रै भेटिने गरेको स्रोतहरूको दाबी छ । विभिन्न मन्त्रालय तथा निकायका क्यान्टिनमा नियमित देखिने उनी कार्यालय समयमा आफूले चाहेको मन्त्रालयका महाशाखासम्म पुग्ने गरेको कर्मचारीहरू बताउँछन् ।
विभिन्न मन्त्रालयका कर्मचारीका अनुसार लुइँटेल मन्त्रालयभित्र पुगेर कर्मचारीहरूलाई ’नेपाल बनाउनुपर्छ’ भन्दै उपदेश दिने गर्छन् । उनी मन्त्री, सचिव तथा सहसचिवसँग आफ्नो निकट सम्बन्ध रहेको देखाउन विभिन्न गतिविधि गर्ने गरेको एक सहसचिवले बताए ।
’सिंहदरबारभित्र मन्त्री, सचिव र सहसचिवलाई भेट्न विभिन्न क्षेत्रका मानिसहरू आइरहेका हुन्छन् । ती मानिसहरूलाई भेषराजको उद्देश्य मन्त्री र सरकारी कर्मचारीसँग आफ्नो राम्रो चिनजान छ भन्ने देखाउनु हुने रहेछ । मन्त्रालयमा बाहिरका मानिससँग बैठक वा भेटघाट भइरहेको देखेपछि उनी कामै नपरे पनि भित्र पसेर तपाईं मिटिङमा हुनुहुँदो रहेछ, म पछि आउँछु है भन्दै फर्कन्छन् । यसो गर्दा आफ्नो पहुँच देखाउन खोजेको बुझिन्छ,’ एक मन्त्रालयका सहसचिवले नाम उल्लेख नगर्ने सर्तमा भने ।
सरकारी कर्मचारीलाई सरुवा–बढुवा गराइदिने, अख्तियारमा मुद्दा हालिदिने तथा सम्पत्ति शुद्धीकरणको अभियोग लगाइदिने जस्ता आश्वासन र धम्की दिएर दबाबमा राख्ने गरेको स्रोतहरूको आरोप छ ।
कसरी प्रवेश गर्छन् सिंहदरबार ?
लुइँटेलको सिंहदरबार प्रवेशको विषय झनै रहस्यमय देखिन्छ । उनी कसरी नियमित रूपमा सिंहदरबार प्रवेश गर्छन् भन्नेबारे धेरै कर्मचारीसमेत अनभिज्ञ रहेको बताइन्छ ।
केही समयअघि तत्कालीन सहरी विकास मन्त्रालयबाट ’एसी मर्मत गर्ने प्राविधिक’का रूपमा पास बनाएर उनी सिंहदरबार प्रवेश गर्ने गरेको स्रोतको दाबी छ । तर, मन्त्रालय पुनर्संरचनापछि पूर्वाधार विकास मन्त्रालय बनेसँगै उनको उक्त पास रद्द भएको र नयाँ पास उपलब्ध नगराइएको मन्त्रालय स्रोतले जनाएको छ ।
सिंहदरबारभित्रका मन्त्रालय तथा निकायले कसकसलाई प्रवेश पास उपलब्ध गराएका छन् भन्ने विवरण गृह मन्त्रालयले संकलन गरिसकेको छ । गृहमन्त्री सुधन गुरुङ बनेपछि मन्त्रालय तथा निकायबाट यस्तो विवरण माग गरिएको हो ।
पेशेवर रिट निवेदकका रूपमा चिनिएका र ठूला व्यावसायिक घरानासँग मुद्दामामिलाको धम्की दिएर रकम असुल्ने गरेको आरोप लागेका लुइँटेलले नक्कली पास प्रयोग गरेर सिंहदरबार प्रवेश गर्ने गरेको स्रोतको दाबी छ । तर, यस विषयमा गृह मन्त्रालयको आधिकारिक धारणा सार्वजनिक भएको छैन ।
सिंहदरबारभित्र उनको अधिकांश समय नेपाल टेलिभिजनको क्यान्टिनमा बित्ने गरेको बताइन्छ । विभिन्न मन्त्रालयमा पुगेर सचिव तथा सहसचिवसँग तस्बिर खिचाउने र ती तस्बिर सामाजिक सञ्जालमा राखेर आफ्नो पहुँच प्रदर्शन गर्ने गरेको स्रोतहरूको भनाइ छ ।
को हुन् भेषराज लुइँटेल ?
लुइँटेललाई सर्वोच्च अदालतमा नियमित रिट निवेदन दर्ता गर्ने व्यक्तिका रूपमा चिनिन्छ । सरकारी कर्मचारीहरूबीच उनी पहुँचवाला व्यक्तिका रूपमा परिचित रहेको बताइन्छ भने केही ठूला सार्वजनिक कम्पनी तथा करदाताहरूले उनीमाथि व्यावसायिक ब्ल्याकमेलिङको आरोप लगाउने गरेका छन् ।
उनी आफूलाई कहिले कानुन व्यवसायी, कहिले सामाजिक अभियन्ता, कहिले चार्टर्ड एकाउन्टेन्ट (सीए) त कहिले भ्रष्टाचारविरोधी अभियन्ताका रूपमा प्रस्तुत गर्ने गरेको स्रोतहरूको भनाइ छ । खासमा उनी पूर्वचार्टर्ड एकाउन्टेन्ट हुन् ।
लुइँटेलले २०६० सालतिर काठमाडौंको ठमेलमा बीआर लुइँटेल एन्ड कम्पनी नामक अडिट फर्म स्थापना गरी व्यावसायिक लेखापरीक्षण सुरु गरेका थिए । तर, व्यावसायिक आचरणविपरीत कार्य गरेको उजुरीपछि नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) ले २०६५ असार ३ गते उनलाई नसिहत दिएको थियो । त्यसपछि उनले अडिट फर्म बन्द गरेर अन्य गतिविधिमा संलग्न हुन थालेको अनुसन्धानमा उल्लेख छ ।
कम्पनी ऐनअनुसार लेखापरीक्षणका लागि तोकिएको योग्यता भएको लेखापरीक्षक आवश्यक हुन्छ । आइक्यानबाट कारबाहीमा परेको व्यक्ति वा फर्मले तीन वर्षसम्म लेखापरीक्षण गर्न नपाउने व्यवस्था रहेको छ ।
पेशेवर रिट निवेदक
पछिल्लो समय लुइँटेल सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्ने व्यक्तिका रूपमा देखिएका छन् । उनले दर्ता गरेका १० वटाभन्दा बढी रिट निवेदन सर्वोच्च अदालतमा न्यायिक प्रक्रियामा रहेको बताइएको छ ।
कानुन व्यवसायीहरूका अनुसार एउटा रिट निवेदन सर्वोच्च अदालतबाट अन्तिम टुंगोमा पुग्दासम्म कम्तीमा पाँच लाख रुपैयाँ खर्च लाग्न सक्छ । तर, स्पष्ट रूपमा कुनै पेसा व्यवसायमा संलग्न नरहेका लुइँटेलले यति धेरै मुद्दा कसरी अघि बढाइरहेका छन् भन्ने प्रश्नसमेत उठ्ने गरेको छ ।
लुइँटेल आफूले दर्ता गरेका अधिकांश रिट निवेदनमा आफैँ बहस गर्छन् । तर, उनी कानुन व्यवसायी अर्थात् अधिवक्ता नभएको स्रोतको दाबी छ । कानुनी व्यवस्थाअनुसार मुद्दाका पक्षले आफ्नो मुद्दामा आफैँ उपस्थित भएर बहस गर्न पाउने भएकाले उनले यही व्यवस्थाको उपयोग गर्दै आएका छन् ।
उच्चपदस्थ कर्मचारीसँग निकटता र विवाद
लुइँटेलको अर्को महत्वपूर्ण पहिचान सिंहदरबारभित्रको पहुँच हो । उच्चपदस्थ कर्मचारीहरूसँग निकटता बनाउने, उनीहरूका कमजोरी पहिचान गर्ने र पछि तिनै व्यक्तिलाई समस्यामा पार्ने गरेको स्रोतहरूको आरोप छ ।
यसको उदाहरणका रूपमा पूर्वमुख्यसचिव शंकरदास बैरागीको प्रसंगसमेत जोडिएको छ । लुइँटेलले बैरागीलाई आफ्नो दाइ भन्दै विभिन्न सरकारी कर्मचारीसँग निकटता बढाउने र तस्बिर खिचाउने गरेको बताइन्छ । तर, पछि उनै बैरागीको नियुक्तिविरुद्ध संसदीय समितिमा उजुरी दिएका थिए ।
सरकारले २०८० जेठ ३० गते बैरागीलाई मुख्यसचिवबाट हटाएर राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो । उक्त नियुक्तिविरुद्ध लुइँटेलले राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी दिएका थिए ।
त्यस्तै, लुइँटेलले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका तत्कालीन महानिर्देशक पुष्प शाहीलाई सरुवा गराएर कमल भट्टराईलाई नियुक्ति दिलाउन भूमिका खेलेको दाबी गर्दै आएको स्रोतहरूको भनाइ छ । सरकारी निकायको नेतृत्व चयनमा उनको प्रभाव रहेको हो वा होइन भन्ने विषय पनि चासोको विषय बनेको छ ।
ठूला व्यावसायिक घरानासँग ब्ल्याकमेलिङको आरोप
पछिल्लो समय लुइँटेलमाथि विभिन्न ठूला व्यावसायिक घरानालाई मुद्दामामिलाको डर देखाएर आर्थिक दबाब सिर्जना गर्ने गरेको आरोप लाग्दै आएको छ ।
व्यावसायिक संस्थाका कमजोरी पहिचान गरी रकम माग्ने र मागअनुसार रकम नदिए मुद्दा दर्ता गरेर अनावश्यक दुःख दिने गरेको व्यवसायीहरूको आरोप छ ।
स्रोतका अनुसार उनले एभरेस्ट होटल, हायात रिजेन्सी होटल, डोल्मा फन्ड, एनसेल आजियाटा र कालिञ्चोक केबलकारजस्ता व्यावसायिक संस्थाविरुद्ध मुद्दा दर्ता गरेका छन् ।
लुइँटेलले दर्ता गरेका करिब १० वटा रिट निवेदन सर्वोच्च अदालतमा न्यायिक प्रक्रियामा रहेको बताइएको छ । मुद्दा दर्ता गर्नु आफैँमा गैरकानुनी कार्य नभए पनि मुद्दामार्फत आर्थिक लाभ लिन दबाब सिर्जना गरिएको हो वा होइन भन्ने विषय अनुसन्धानको विषय बन्न सक्छ ।
विवादित विगत र बैंकिङ कसुरको मुद्दा
लुइँटेलको विगत पनि विवादरहित छैन। उनको सीएको लाइसेन्स खारेज भएको र उनीविरुद्ध बैंकिङ कसुरको मुद्दासमेत परेको विवरण सार्वजनिक भएको छ ।
ग्यालेक्सी स्कुलकी सञ्चालिका गीता राणाकी छोरी ज्योत्सना सिंहले काम गरिदिने भन्दै लुइँटेलले लाखौँ रुपैयाँ लिएको तर काम पूरा नगरेको आरोप लगाउँदै उनीविरुद्ध उजुरी दिएकी थिइन् ।
लुइँटेलले दिएको नेपाल इन्भेस्टमेन्ट बैंकको चेक बाउन्स भएपछि सिंहले प्रहरी परिसर टेकुमा उजुरी दिएकी थिइन् । उक्त उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरी बैंकिङ कसुरसम्बन्धी मुद्दा अघि बढाएको थियो ।
काठमाडौं जिल्ला अदालतले उक्त मुद्दामा उनलाई दोषी ठहर गरेको थियो । त्यसपछि लुइँटेलले पुनरावेदन अदालतमा पुनरावेदन दर्ता गरेका थिए। पछि रकम भुक्तानी गरेपछि उनले सफाइ पाएको बताइएको छ ।
लुइँटेलको धारणा
यता, भेषराज लुइँटेलले आफ्ना विषयमा आएका कुराहरु तथ्यहीन र प्रमाणविहीन रहेको दाबी गरेका छन् ।
व्यावसायिक संस्थासँग रकम मागेको, अरूको नाममा पास बनाएर सिंहदरबार प्रवेश गरेको तथा सरकारी अधिकारीको सरुवा–नियुक्तिमा प्रभाव पारेको विषयको उनले त्यसको खण्डन गरेका छन् ।
उनले कुनै पनि व्यक्ति वा संस्थासँग रकम माग नगरेको दाबी गर्दै कसैले त्यस्तो दाबी गर्छ भने प्रमाण सार्वजनिक गर्न चुनौती दिएका छन् ।
सार्वजनिक सरोकारका विषयमा अदालतमा रिट निवेदन दायर गर्नु र आफ्नो मुद्दामा आफैँ बहस गर्नु संविधान तथा कानुनले दिएको अधिकार भएको उनको भनाइ छ । ती निवेदनको औचित्य अदालतले निरूपण गर्ने भन्दै उनले न्यायिक प्रक्रियामा रहेका निवेदनलाई ’ब्ल्याकमेल’ को साधनका रूपमा चित्रण गर्नु विचाराधीन मुद्दाको स्वच्छ सुनुवाइमा प्रभाव पार्ने प्रयास भएको बताएका छन् ।
लुइँटेलले सिंहदरबार प्रवेशका लागि अरूको नाममा पास बनाएको तथा सरकारी अधिकारीको सरुवा–नियुक्तिमा प्रभाव पारेको आरोपबारे भने उक्त खण्डनमा छुट्टै विस्तृत जानकारी भने दिएका छैनन् ।
वडापालिका डटकमबाट साभार गरिएको