काठमाडौँ ।
सुदूरपश्चिम कलाकार समाजले दशैँ, तिहार तथा छठ पर्वको अवसरमा काठमाडौँमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
कीर्तिपुरस्थित चौतारी रिसोर्टमा आयोजित कार्यक्रममा सुदूरपश्चिमका करिब दुई दर्जन लोकप्रिय कलाकारहरूको सहभागिता रहेको थियो । कार्यक्रम समाजका अध्यक्ष सुरेश बोहराको अध्यक्षतामा सम्पन्न भएको हो ।
कार्यक्रममा महेश कुमार औजी, जनक महरा, शोभा थापा, भानुभक्त जोशी, दीपा रोकाया, भरत भट्ट, जेआर भट्ट, संगीता बडुवाल, भावना चन्द, निरुता खत्री, लोकेन्द्र नाथ लगायतका कलाकारहरूले विभिन्न सांगीतिक तथा सांस्कृतिक प्रस्तुति दिएका थिए । कलाकारहरूले एकअर्कालाई दशैँ, तिहार तथा छठ पर्वको शुभकामना समेत व्यक्त गरेका थिए ।
कार्यक्रमले सुदूरपश्चिमको कला, संस्कृति र मौलिक पहिचानलाई काठमाडौंमा समेत प्रवर्द्धन गर्न कलाकारहरूबीच आपसी एकता र सहकार्यको वातावरण निर्माण गरेको आयोजकले जनाएको छ ।
सुदूरपश्चिम कलाकार समाजले विभिन्न चाडपर्व तथा विशेष अवसरमा नियमित रूपमा सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदान-प्रदान कार्यक्रम आयोजना गर्दै आएको छ । यस्ता कार्यक्रममार्फत सुदूरपश्चिमका कलाकारहरूलाई एकताबद्ध गर्दै कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्य रहेको समाजले जनाएको छ ।