काठमाडौँ ।
“मेरो सन्देश आमालाई भन्दिए है साथी, बाँचेर आएँ अर्को दशैँ, मरिगए लासै आउला, भेटै होला माथि ”
“दशैँ आयो झन् छाती दुख्ने भो, यसपालि नि जमरा सुक्ने भो...”
परदेशमा रहेका नेपाली युवाको बाध्यता र स्वदेशमा उनीहरूको प्रतीक्षामा रहेका परिवारको पीडालाई समेट्दै नयाँ गीत ‘फर्किआऊ ए परदेशी’ बजारमा आएको छ । गायक भक्तराज भट्ट र गायिका शान्तिश्री परियारको स्वरमा सजिएको उक्त गीतले दशैँको मुखमा परदेशिएका आफन्तको सम्झनामा छटपटाइरहेका परिवारको व्यथा प्रस्तुत गरेको छ ।
नेपालमा रोजगारीको पर्याप्त अवसर नहुँदा जीविकोपार्जनका लागि विदेशिनुपर्ने बाध्यतामा रहेका युवाको कथा गीतमा समेटिएको छ । चाडपर्वका बेला घरपरिवारसँगै बसेर खुसी साट्ने चाहना हुँदाहुँदै पनि परदेशमा पसिना बगाउन बाध्य युवाको पीडा र उनीहरूलाई घर फर्किने प्रतीक्षामा रहेका परिवारको भावनालाई गीतले मार्मिक ढङ्गले प्रस्तुत गरेको छ ।
गीतमा दशैँको समयमा घर फर्किने आशामा बसेका परिवारको प्रतीक्षा, आमाको सम्झना र परदेशीको अनिश्चित भविष्यलाई भावनात्मक रूपमा चित्रण गरिएको छ । “जुरेलीले विरहको गीत गाउँदा मेलैमा सयपत्री फुलिसके, फर्किआऊ ए परदेशी दशैँको बेलैमा” भन्ने शब्दले परदेशमा रहेका आफन्तलाई चाडपर्वमा घर फर्किन गरेको आग्रहलाई अभिव्यक्त गर्छ ।
एक दर्जनभन्दा बढी लोकगीत श्रोतामाझ चर्चामा ल्याइसकेका गायक भट्टले दशैँको अवसर पारेर सार्वजनिक गरेको यस गीतमार्फत वैदेशिक रोजगारीका कारण परिवारमा सिर्जना हुने भावनात्मक दूरी र सामाजिक पीडालाई उजागर गर्ने प्रयास गरेका छन् ।
गायक भट्टका ‘झुमा झम्के सरु’, ‘सइँया सुनकेशरी’ लगायतका गीत श्रोतामाझ लोकप्रिय छन् । ‘फर्किआऊ ए परदेशी’ ले पनि चाडपर्वको समयमा परदेशमा रहेका नेपाली र उनीहरूको प्रतीक्षामा रहेका परिवारको मन छुने अपेक्षा गरिएको छ ।
रोजगारीको खोजीमा विदेशिएका नेपालीको पीडा र घर फर्किने प्रतीक्षामा रहेका परिवारको भावनालाई समेटिएको यो गीतले यस वर्षको दशैँमा धेरैको मन छुने विश्वास गरिएको छ ।
https://www.youtube.com/watch?v=vLqqvV0r0HA&list=RDvLqqvV0r0HA&start_radio=1