काठमाडौँ । प्रहरी महानिरीक्षक (आइजिपी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा आज हुने भनिएको सुनुवाइ रोकिएको छ। कार्कीलाई पदबाट हटाएर नयाँ प्रहरी महानिरीक्षक नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय कानुनसम्मत भए–नभएको विषयमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने सम्बन्धमा दुवै पक्षबीच बहस हुने तय भए पनि नयाँ आइजिपी मनोजकुमार केसी अदालतमा उपस्थित नभएपछि सुनुवाइ अघि बढ्न नसकेको हो।
न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा पेसी तोकिएको उक्त मुद्दामा अन्तरिम आदेशको मागमाथि केन्द्रित रहेर दुवै पक्षका कानुन व्यवसायीले बहस गर्ने कार्यतालिका थियो। तर, अदालतको आदेशअनुसार छलफलका लागि उपस्थित हुनुपर्ने प्रहरी महानिरीक्षक केसीले म्याद बुझिनसकेको कारण देखाउँदै आजको सुनुवाइ स्थगित भएको बताइएको छ।
सुनुवाइका क्रममा इजलासले नयाँ आइजिपी केसी उपस्थित नभएको विषयमा महान्यायाधिवक्ता नारायणदत्त कँडेलसँग जानकारी मागेको थियो। त्यसक्रममा केसीलाई अर्को सुनुवाइमा अनिवार्य रूपमा उपस्थित गराउने व्यवस्था मिलाउन इजलासले निर्देशन दिएको छ। साथै, मुद्दाको सुनुवाइलाई प्राथमिकता दिँदै आगामी पेसी पहिलो नम्बरमा राख्नसमेत आदेश दिइएको छ।
यता, केसी पक्षका कानुन व्यवसायीले भने आफूहरूले अदालतबाट म्याद नै प्राप्त नगरेको जिकिर गरेका थिए। म्याद तामेलीको विषयलाई लिएर दुवै पक्षबीच फरक धारणा देखिएपछि आज अन्तरिम आदेशको विषयमा प्रवेश नगरी सुनुवाइ स्थगित भएको हो।
यसअघि मंसिर २ गते न्यायाधीश श्रीकान्त पौडेलको इजलासले कार्कीको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै विपक्षी सरकार तथा सम्बन्धित निकायका नाममा कारण देखाऊ आदेश जारी गरेको थियो। सर्वोच्चले मन्त्रिपरिषद्को कात्तिक १८ गतेको निर्णयको प्रमाणित प्रतिलिपिसहित त्यससँग सम्बन्धित अन्य आवश्यक कागजात अदालतमा पेस गर्न निर्देशन दिएको थियो।
त्यसैगरी, सरकारले १५ दिनभित्र लिखित जवाफ पेस गर्नुपर्ने आदेशसमेत जारी गरिएको थियो। मुद्दाको प्रकृति, सार्वजनिक चासो तथा संवेदनशीलतालाई मध्यनजर गर्दै सर्वोच्च अदालतले यसलाई अग्राधिकार प्रदान गरेको थियो। अग्राधिकार प्राप्त मुद्दा भएकाले यसको सुनुवाइलाई अन्य नियमित मुद्दाभन्दा प्राथमिकतामा राखेर अघि बढाउनुपर्ने हुन्छ।
के हो विवादको पृष्ठभूमि ?
गत कात्तिक १८ गते बसेको मन्त्रिपरिषद् बैठकले तत्कालीन प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई आइजिपीको जिम्मेवारीबाट हटाउने निर्णय गरेको थियो। उनलाई प्रधानमन्त्रीको विशेष सल्लाहकारका रूपमा नियुक्त गर्ने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको थियो। सोही बैठकले मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो।
सरकारको उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै कार्कीले आफूलाई गैरकानुनी रूपमा पदबाट हटाइएको दाबी गरेका छन्। सरकारको निर्णय बदर गरी आफूलाई पुनः प्रहरी महानिरीक्षकको जिम्मेवारीमा बहाल गराउन माग गर्दै उनले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका हुन्।
कार्कीको रिटले सरकारको कार्यकारी अधिकार, प्रहरी नेतृत्वको नियुक्ति तथा पदमुक्तिसम्बन्धी कानुनी प्रक्रिया र त्यसको न्यायिक परीक्षणलाई समेत बहसको केन्द्रमा ल्याएको छ। विशेषगरी, प्रहरी महानिरीक्षकजस्तो संवेदनशील संवैधानिक तथा प्रशासनिक जिम्मेवारीमा रहेको पदाधिकारीलाई हटाउने सरकारको निर्णय कानुनसम्मत थियो वा थिएन भन्ने प्रश्न अब सर्वोच्च अदालतको न्यायिक परीक्षणको विषय बनेको छ।
आजको सुनुवाइ स्थगित भएसँगै कार्कीको पुनर्बहालीसम्बन्धी माग र सरकारको निर्णयको वैधानिकताबारे तत्काल कुनै निष्कर्ष निस्कन सकेन। अब सर्वोच्चले तोक्ने आगामी पेसीमा नयाँ आइजिपी केसीको उपस्थिति तथा दुवै पक्षको बहसपछि अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा निर्णय हुने अपेक्षा गरिएको छ।
यस मुद्दाको आगामी सुनुवाइले प्रहरी संगठनको नेतृत्व परिवर्तनसम्बन्धी सरकारको निर्णयको कानुनी वैधता र कार्कीको पुनर्बहालीको मागबारे महत्वपूर्ण न्यायिक दिशा तय गर्ने देखिन्छ।