काठमाडौं ।
विश्व क्रिकेटमा पुराना खेलाडीले विश्राम लिनु र नयाँ खेलाडीको उदय हुनु सामान्य प्रक्रिया हो । तर, केही यस्ता खेलाडी पनि छन्, जसले निकै कम उमेरमा अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेका थिए ।
यसरी कम उमेरमा अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गर्ने नेपाली क्रिकेटरले त अहिले पनि अब्बल प्रदर्शन गरिरहेका छन् । यी खेलाडीको अन्तर्राष्ट्रिय ‘डेब्यू’ र उत्कृष्ट प्रदर्शनमा उमेर बाधक बन्दैन भन्ने कुरालाई प्रमाणित पनि गरेका छन् ।
यहाँ यस्तै केही खेलाडीबारे चर्चा गरिएको छ, जसले निकै कम उमेरमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेका थिए । रमाइलो विषय त के हो भने, यो सूचीमा नेपालका तीनजना खेलाडी पनि छन् ।
गुलसन कुमार झा
कम उमेरमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गर्ने क्रिकेटरको सूचीमा तेस्रो स्थानमा नेपालका गुलसन झा पनि रहेका छन् । उनले केवल १५ वर्ष दुई सय १२ दिनको उमेरमा एकदिवसीय अन्तर्राष्ट्रियमा ‘डेब्यू’ गरेका थिए ।
गुलसनले सन् २०२१ को सेप्टेम्बर १७ तारिखमा अमेरिकाविरुद्ध पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका थिए । त्यो खेलमा गुलसनले २८ रन बनाएका थिए ।
रोहितकुमार पौडेल
कम उमेरमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गर्ने खेलाडीको सूचीमा छैटौँ स्थानमा नेपालका रोहितकुमार पौडेल छन् । उनले १५ वर्ष तीन सय ३५ दिनको उमेरमा पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए ।
रोहितले आफ्नो पहिलो खेल सन् २०१८ को अगस्त ३ तारिखमा एम्स्टेलविनमा नेदरल्यान्ड्सविरुद्ध खेलेका थिए । रोहितले ६ रन बनाएको उक्त खेलमा नेपाल एक रनले विजयी भएको थियो । उनी सबैभन्दा कम उमेरमा राष्ट्रिय टोलीको कप्तानी गर्ने विश्वकै दोस्रो खेलाडी पनि हुन् ।
रोहितले केवल २० वर्ष ७३ दिनको उमेरमा राष्ट्रिय टोलीको कप्तानी गरेका थिए । उनी अहिले पनि नेपालको राष्ट्रिय टोलीको कप्तानको भूमिकामै सक्रिय छन् ।
कुशल मल्ल
यो सूचीमा सातौँ स्थानमा पनि नेपाली खेलाडी नै छन् । उनी हुन्, नेपाली राष्ट्रिय टोलीका प्रभावशाली सदस्य कुशल मल्ल । कुशल मल्लले १५ वर्ष तीन सय ४० दिनको उमेरमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेका थिए ।
उनले आफ्नो पहिलो खेल सन् २०२० को फेब्रुअरी ८ तारिखमा अमेरिकाविरुद्ध खेलेका थिए । आफ्नो पहिलो खेलमै कुशलले अर्धशतक बनाएका थिए भने उक्त खेलमा नेपाली टोली ३५ रनले विजयी भएको थियो । उनले एक विकेट पनि लिएका थिए ।
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा त उनले त्योभन्दा अघि नै ‘डेब्यू’ गरिसकेका थिए । उनले पहिलो टी–२० अन्तर्राष्ट्रिय सन् २०१९ को सेप्टेम्बर २७ तारिखमा जिम्बाब्वेविरुद्ध खेलेका थिए ।