धनगढी
सुदूरपश्चिम प्रदेशको धनगढीमा पक्की पुलसम्बन्धी पुल सूचना व्यवस्थापन प्रणाली तालिम सम्पन्न भएको छ। सुदूरपश्चिम प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको आयोजनामा प्रदेशभर निर्माण हुने मोटरेबल पुलहरूको व्यवस्थापनसम्बन्धी दुई दिने तालिम सञ्चालन गरिएको हो ।
स्थानीय सडक पुल सहयोग इकाई (LRBSU) को प्राविधिक सहयोगमा सञ्चालन गरिएको उक्त तालिममा भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतका कार्यालयका २० जना इन्जिनियर तथा प्राविधिकको सहभागिता रहेको थियो ।
प्रदेशभर निर्माण भएका तथा भविष्यमा निर्माण हुने पुलहरूको तथ्यांक व्यवस्थापन, अनलाइन प्रणालीमार्फत प्रतिवेदन जाँच, अनुगमन तथा पुल व्यवस्थापनलाई समयमैत्री र वातावरणमैत्री बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो । प्रदेशका सबै पुललाई एउटै अनलाइन प्लेटफर्ममा राखी कर्मचारीलाई सहज पहुँच उपलब्ध गराउने लक्ष्यसहित प्रविधिक प्रतिवेदन व्यवस्थापनमा जोड दिइएको थियो ।
प्रदेश स्थापना भएयता सुदूरपश्चिम प्रदेश सरकारले करिब ५० वटा साना–ठूला पुल निर्माण गरिसकेको छ ।
कार्यक्रमको एक सत्रमा बोल्दै भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव विष्णु भण्डारीले पुलसम्बन्धी तथ्यांक एउटै प्लेटफर्ममा व्यवस्थापन गर्न सके भविष्यमा पुल निर्माण तथा योजना बनाउन सहज हुने बताए । उनले पुलसम्बन्धी कागजी झन्झट हट्ने उल्लेख गर्दै कार्यक्रम आयोजना गरेको स्थानीय सडक पुल सहयोग इकाईको प्रशंसा गरे ।
धनगढीको रुबस होटलमा सम्पन्न उक्त तालिमपछि पुलको प्रतिवेदन जाँच, ठेक्का व्यवस्थापन तथा निर्माण प्रक्रियामा थप सहजता आउने अपेक्षा गरिएको छ। तालिम संयोजक हरि शंकर जोशीले तालिममा सिकेका ज्ञान व्यवहारमा लागू गर्न सबै इन्जिनियरलाई अनुरोध गर्दै सहभागी सबैलाई धन्यवाद दिए ।
तालिमको प्रशंसा गर्दै सहभागी योगेन्द्र अधिकारीले तालिमबाट पुलसम्बन्धी तथ्यांक व्यवस्थापन र आवश्यक डाटा खोज्न निकै सहज हुने बताए। उनले प्रदेशभरका पुलहरूको तथ्यांक व्यवस्थित गर्न यो तालिम उपयोगी र सौहार्दपूर्ण रहेको उल्लेख गर्दै आयोजक तथा प्रायोजक सबैलाई धन्यवाद दिए ।
