बैतडी,
बैतडीको दशरथचन्द नगरपालिकाले वडा पदाधिकारी तथा कर्मचारीहरूका लागि घर नक्सापास (भवन निर्माण आचारसंहिता) तथा जग्गा वर्गीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
नगरपालिकाले हाल जग्गा वर्गीकरणको काम अघि बढाइरहेको अवस्थामा यसबारे सर्वसाधारणमा पर्याप्त जानकारी नहुँदा घर नक्सापास र जग्गा वर्गीकरण प्रक्रियामा विभिन्न समस्या देखिएकाले वडा पदाधिकारी र कर्मचारीमार्फत नागरिकलाई सही सूचना प्रवाह गर्न सहज होस् भन्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा जग्गा वर्गीकरणको आवश्यकता, यसको फाइदा, कृषि तथा अन्य प्रयोजनअनुसार जग्गा वर्गीकरण गर्ने प्रक्रिया, साथै भवन निर्माण सम्बन्धी नेपाल सरकार तथा स्थानीय तहले जारी गरेका नियम, कानुन र कार्यविधिका बारेमा जानकारी प्रदान गरिएको थियो ।
भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान र व्यवस्थापनका लागि जग्गा वर्गीकरण गर्दा अपनाउनुपर्ने आधार र मापदण्डबारे नापी कार्यालय बैतडीका नापी अधिकृत विनोद भट्टले सहजीकरण गरेका थिए ।
त्यसैगरी, भवन निर्माणसँग सम्बन्धित नगरपालिकाले लागू गरेको भवन निर्माण आचारसंहिताका विषयमा नगरपालिकाका प्राविधिक शाखा प्रमुख इन्जिनियर धनुस भट्टले जानकारी गराएका थिए।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज सुवेदीले भविष्यमा सबै घर तथा जग्गाको वास्तविक अवस्था अध्ययन गरी कानुनी दायरामा ल्याइने भएकाले घर नक्सापास गरेर मात्र भवन निर्माण गर्नुपर्नेमा जोड दिए ।
नगर प्रमुख पुष्करराज जोशी (लख्खाभाइ)ले आगामी साउन १ गतेदेखि घर निर्माणसम्बन्धी सरकारी मापदण्ड पूर्ण रूपमा लागू गरिने जानकारी दिँदै घर निर्माणमा संलग्न मिस्त्रीहरूलाई पनि मापदण्डअनुसार निर्माण गर्न र घरधनीलाई आवश्यक सुझाव दिन आग्रह गरे ।
उनले घर नक्सापास तथा जग्गा वर्गीकरण सम्बन्धी विषयमा सबै नागरिक सचेत र जानकार हुनुपर्नेमा जोड दिँदै कानुनी प्रक्रिया र निर्माण मापदण्डको पूर्ण पालना गर्न सबैलाई आग्रह गरे ।