बैतडी ।
बैतडीको पाटन नगरपालिका–८, खोड्पे जसुलीखाली निवासी संस्कारशिरोमणि ज्योतिषाचार्य पण्डित गणेशप्रसाद पन्तले विगत २७ वर्षदेखि दलित बस्तीमा वैदिक विधिअनुसार धार्मिक कर्मकाण्ड गर्दै सामाजिक तथा सांस्कृतिक कुरीति हटाउने अभियान सञ्चालन गर्दै आएका छन् ।
पन्तले दलित समुदायमा सप्ताह, व्रतबन्ध, विवाह, न्वारन, वास्तुपूजा, गृहप्रवेशलगायत ४११ भन्दा बढी प्रकारका धार्मिक कर्मकाण्ड सम्पन्न गरिसकेको बताए । उनका अनुसार हालसम्म ३८ वटा सप्ताह, २४ वटा शिवपुराण, २९७ वटा लघुरुद्राभिषेक, १८९ वटा महारुद्राभिषेक, ३,९११ वटा न्वारन, ५६७ वटा व्रतबन्ध, ७२२ वटा सत्यनारायण पूजा, ६२२ वटा ग्रहशान्ति, ३९ वटा शतचण्डी, ६२ वटा अखण्ड रामायण, ५७९ वटा स्वस्थानी व्रतकथा, ५५ वटा त्रिपिण्डी श्राद्ध, ७९ वटा गरुड पुराण तथा ७११ वटा पार्वण श्राद्ध र ९३४ वटा एकोतिष्ट श्राद्धलगायतका धार्मिक कार्य सम्पन्न गरिसकेका छन् ।
जिल्लाको प्रसिद्ध श्री बनारसीधाम विश्वनाथ ज्योतिर्लिङ्गका मूल पुजारी तथा राजज्योतिषी पन्तले सांस्कृतिक कुरीति अन्त्यका लागि दमाई, कामी, बादी, पोणे, कुमाललगायत विभिन्न शिल्पी समुदायका १,६९३ जनालाई जनैधारण गराइसकेको बताए । उनले ४११ जना दलित महिलालाई दूधागो (दोरक) धारण गराइएको बताए ।
धर्मग्रन्थमा जातीय वा लैङ्गिक आधारमा कसैमाथि विभेद नगर्न भनिएको उल्लेख गर्दै पन्तले समाजमा अझै विद्यमान छाउपडी प्रथा, जातीय विभेद र धार्मिक असमानता हटाउन धार्मिक अगुवाहरू नै अग्रसर हुनुपर्ने बताउछन् ।
उनका अनुसार कानुनले अपराध मानेका विभेदपूर्ण अभ्यास धार्मिक नेतृत्वकै पहलमा अन्त्य हुनुपर्छ । “सुदूरपश्चिममा अहिले पनि धेरै ब्राह्मणहरू दलित बस्तीमा गएर न्वारन, विवाह वा व्रतबन्ध गराउँदैनन् । चिहानघाटसम्म जातीय विभेद हुने गरेको देखेपछि मैले आफैँ यस्तो अभियान सुरु गरेको हुँ,” उनले भले ।
पन्तले आफू दलित समुदायका घरमा धार्मिक अनुष्ठान सम्पन्न गर्नुका साथै उनीहरूसँगै भोजन गर्ने गरेको बताए । उनका अनुसार दलित समुदायभित्र पनि आपसी विभेद देखिने गरेको छ, जुन हटाउन आवश्यक छ ।
सन्ध्यापूजाका क्रममा अथर्ववेदलाई ‘दलितको वेद’ भन्दै भुइँमा पानी खसाल्ने परम्परा गलत भएको उनको भनाइ छ । अथर्ववेदकै ज्ञानका आधारमा आधुनिक विज्ञान र प्रविधिको विकास भएको उल्लेख गर्दै शिल्पकार समुदायमाथिको विभेद अन्त्य हुनुपर्ने उनले जोड दिए ।
दलित बस्तीमा कर्मकाण्ड गर्न थालेपछि आफ्ना बुवा–बाजेका पालादेखिका गैरदलित समुदायका ५७५ जना पुख्र्यौली यजमान गुमाउनुपरेको उनको अनुभव छ । साथै सामाजिक सञ्जालमार्फत गालीगलौज र आलोचना सहनुपरे पनि आफू आफ्नो धर्म, कर्म र अभियानबाट विचलित नभएको उनले बताए ।
“दलितमाथि विभेद गर्ने जोसुकैलाई कानुनी कारबाही हुनुपर्छ,” उहाँले भन्नुभयो, “मलाई सामाजिक सञ्जालमा गाली गरे पनि म समानता र मानवताको पक्षमा उभिने आफ्नो अभियानलाई निरन्तर अघि बढाइरहेको छु ।”
पन्तको लक्ष्य प्रत्येक हिन्दू परिवारमा वेद, पुराण, शालिग्राम, तुलसी, शङ्ख–घण्ट तथा पाञ्चायन देवताको विधिपूर्वक स्थापना गराउनु रहेको छ। उहाँका अनुसार धर्मशास्त्रले महिला र पुरुषलाई मात्र जातका रूपमा स्वीकार गरेको छ, अन्य जातीय विभाजन मान्य छैन । विभेदकारी व्याख्या भएका ग्रन्थहरूको समयानुकूल संशोधन आवश्यक रहेको उनको धारणा छ ।
सबै धार्मिक स्थल र धार्मिक गतिविधिमा सबै समुदायको समान सहभागिता सुनिश्चित हुनुपर्ने उनको माग छ ।