बैतडी,
बैतडीको डिलाशैनी गाउँपालिका–५ का युवा गोविन्द गिरीले डिलाशैनी गाउँपालिका स्थित गोकुलेश्वर–धामीगाउँ सडक जनश्रमदान अभियानसँग सम्बन्धित सम्पूर्ण आय–व्यय विवरण सार्वजनिक गर्न माग गर्दै गाउँपालिका अध्यक्ष सन्तोश जोशीलाई खुला पत्र लेखेका छन् ।
गिरीले अभियान कुनै व्यक्ति वा सीमित समूहको परियोजना नभई पालिका सरकार, डिलाशैनीवासीको स्वेच्छिक श्रम, आर्थिक सहयोग, सामग्री र विश्वासका आधारमा सञ्चालन भएको सार्वजनिक अभियान भएकाले यसको आर्थिक तथा भौतिक स्रोतबारे पारदर्शिता कायम हुनुपर्ने उल्लेख गरेका छन् ।
खुला पत्रमा वि.स.२०७७मा युवाहरुले सञ्चालन गरेको अभियानका क्रममा स्वदेश तथा विदेशबाट नगद, डिजेल, ग्यास, बास, निर्माण सामग्री तथा श्रमदानलगायत विभिन्न प्रकारका सहयोग प्राप्त भएको उल्लेख गर्दै सहयोग गर्ने प्रत्येक नागरिकलाई आफ्नो योगदान कहाँ, कसरी र कति प्रयोग भयो भन्ने जानकारी पाउने नैतिक तथा कानुनी अधिकार रहेको उल्लेख गरेका छन् ।
पत्रमा गाउँपालिका अध्यक्षले अभियानको सुरुवाती बिन्दु देउझाडीमा सबै सहयोगदाताको नामावली सार्वजनिक रूपमा टाँस्ने प्रतिबद्धता जनाएको भए पनि हालसम्म सहयोगदाताको सूची, प्राप्त नगद तथा सामग्रीको विस्तृत विवरण र आय–व्यय सार्वजनिक नगरिएको आरोप छ ।
यस्तै, सडक निर्माणमा संलग्न केही डोजरधनीहरूले आफूले काम गरेको रकमसमेत प्राप्त नगरेको भन्दै असन्तुष्टि जनाइरहेको अवस्थाले अभियानबारे अनावश्यक शंका र प्रश्नहरू उठ्न थालेको पनि पत्रमा उल्लेख छ ।
गिरीले सार्वजनिक उद्देश्यका लागि संकलित सहयोगको पारदर्शी व्यवस्थापन सुशासनको आधारभूत सिद्धान्त भएको उल्लेख गर्दै सबै सहयोगदाताको नामावली, प्राप्त नगद तथा सामग्रीको विवरण, श्रमदानको अभिलेख र सम्पूर्ण आय–व्यय तत्काल सार्वजनिक गर्न आग्रह गरेका छन् ।
खुला पत्रमा गिरीले आफूहरूले कसैलाई व्यक्तिगत आरोप लगाउने उद्देश्य नराखेको स्पष्ट पार्दै जनताको पक्षबाट सार्वजनिक उत्तरदायित्वको प्रश्न उठाइएको उल्लेख गरेका छन् । जनताको पसिना, पैसा र विश्वासको हिसाब जनताले नै मागेको भन्दै पूर्ण पारदर्शिता र सार्वजनिक जवाफदेहितामार्फत नागरिकको विश्वास कायम गर्नुपर्नेमा उनको जोड छ ।
यस्तो छ खुल्ला पत्रको विवरण
श्रीमान अध्यक्ष ज्यू सादर नमस्कार ! गोकुलेश्वर–धामीगाउँ सडक जनश्रमदान अभियान कुनै व्यक्ति वा सीमित समूहको परियोजना होइन।
यो पालिका सरकार, डिलाशैनीवासी जनताको स्वेच्छिक सहयोग, श्रम, आर्थिक योगदान र विश्वासको जगमा अगाडि बढेको सार्वजनिक अभियान थियो ।
त्यसैले यस अभियानसँग सम्बन्धित आर्थिक तथा भौतिक स्रोत जनउत्तरदायित्व र सार्वजनिक जवाफदेहिताको विषय पनि हो।
यस अभियानका क्रममा स्वदेश तथा विदेशबाट नगद, डिजेल, गास, बास, निर्माण सामग्री र श्रमदान लगायत विभिन्न प्रकारका सहयोग प्रदान गरेर अभूतपूर्व साथ दिएको कुरा सर्वविदित नै छ।
सहयोग गर्ने प्रत्येक नागरिकलाई आफ्नो योगदान कहाँ, कसरी र कति प्रयोग भयो भन्ने जानकारी प्राप्त गर्ने नैतिक तथा कानुनी अधिकार छ।
तपाईले जनश्रमदान अभियानको शुरुको बिन्दु देउझाडीमा सम्पूर्ण सहयोगदाताहरूको नामावली सार्वजनिक रुपमा टाँस्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।
तर हालसम्म न सहयोगदाताहरूको नामावली सार्वजनिक गरिएको छ, न प्राप्त नगद तथा सामग्रीको विस्तृत आय व्यय विवरण सार्वजनिक गरिएको छ ।
डोजरधनीहरुले काम गरेको पैसा समेत प्राप्त नगरेको भनेर आन्दोलनमा हुने अवस्थाले अनावश्यक शंका र प्रश्नहरू जन्माउने अवस्था सिर्जना गरेको छ।
सार्वजनिक उद्देश्यका लागि संकलन गरिएको सहयोगको पारदर्शी व्यवस्थापन गर्नु सुशासनको आधारभूत सिद्धान्त हो।
त्यसैले हामी सम्मानपूर्वक तर दृढ आग्रह गर्दछौ कि सहयोग गर्ने सबै दाताहरूको नामावली, प्राप्त नगद, सामाग्रीको विवरण तथा श्रमदानको विस्तृत विवरण र सम्पूर्ण आय व्यय तत्काल सार्वजनिक गरियोस।
पारदर्शिता अपनाउनु कुनै वैकल्पिक विषय होइन; सार्वजनिक विश्वास कायम राख्नुपर्ने अनिवार्य दायित्व हो।
यदि कुनै सार्वजनिक अभियानमा संकलित स्रोत–साधनको विवरण लामो समयसम्म सार्वजनिक गरिँदैन भने त्यसबारे नागरिकले प्रश्न उठाउनु स्वाभाविक मात्र होइन, लोकतान्त्रिक उत्तरदायित्वको अभ्यास पनि हो।
हामी कसैलाई पनि व्यक्तिगत आरोप लगाउन चाहँदैनौ । हामी केवल जनताको पक्षबाट जनताकै प्रश्न राखिरहेका छौ। त्यसैले यो आग्रहलाई आलोचना होइन, सार्वजनिक उत्तरदायित्वको स्मरणका रूपमा ग्रहण गर्नुहुनेछ भन्ने विश्वास लिएका छौ।
अन्त्यमा, जनताको पसिना, जनताको पैसा र जनताको विश्वासको हिसाब जनताले नै मागेका हुन्। यो कुनै आग्रह मात्र होइन, लोकतान्त्रिक समाजमा नागरिकको वैध अधिकार हो।
जनताको विश्वास जोगाउने सबैभन्दा बलियो माध्यम पूर्ण पारदर्शिता र सार्वजनिक जवाफदेहिता हो। यही मान्यतालाई आत्मसात गर्दै सम्बन्धित सम्पूर्ण विवरण यथाशीघ्र सार्वजनिक गर्नुहुनेछ भन्ने अपेक्षा गर्दछौ ।
गोविन्द गिरी डिलाशैनी वडा नं.५, बैतडी