बैतडी ।
बैतडीको दशरथचन्द नगरपालिका–४ स्थित बसबाट आइतबार बरामद गरिएको २८ बण्डल बिडी दशरथचन्द नगरपालिका–२ निवासी भागरथी बोहराको रहेको स्रोतले दाबी गरेको छ ।
भारतीय बजारबाट बिडी, गुट्खा लगायतका सामग्री भन्सार छलेर वा भन्सारमा राजस्व तिरेर पनि ल्याउन पाइँदैन । तर बैतडीलगायत सीमावर्ती बजारका पसलहरूमा यस्ता सामान जताततै पाइन्छन् । यसको नियन्त्रण न सीमामा रहेको भन्सार कार्यालयले गर्न सकेको छ, न त प्रहरीले नै ।
अहिले चर्चामा रहेको २८ बण्डल बिडी कसको हो भनेर प्रहरीले बिडी ल्याउनेको नाम खुलाएको छैन । प्रहरी प्रवक्ता भन्छन्, “हामी सबै किसिमका अवैध कारोबार रोक्न लागिपरेका छौँ । साना–साना पसलहरूमा यस्ता सामान पाइने कुरा सुन्नमा नआएको होइन । तर कसैले भारतीय बजारमा बिडी किनेर उतै सल्काएर खायो भने फरक कुरा हो । एक डब्बा मात्रै बिडी पनि भन्सारबाट ल्याउन पाइँदैन । कहाँ–कहाँ यस्तो कारोबार भइरहेको छ, त्यसको अनुसन्धान गर्ने र अवैध धन्दामा शून्य सहनशीलता अपनाउने काममा लागिपरेका छौँ ।”
आइतबार प्रहरीसँग पुगेको सूचनाका आधारमा गोठलापानी क्षेत्रमा दशरथचन्द नगरपालिकाले सञ्चालन गरेको नगरबसमा चेकजाँच गर्दा २८ बण्डल बिडी बरामद गरिएको थियो । बरामद सामग्रीबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
घटनापछि नगरबसमार्फत अवैध सामान ओसारपसार हुने गरेको भन्ने चर्चा भए पनि स्थानीयले त्यसको आधारमा नगरबस र त्यसमा कार्यरत कर्मचारीलाई दोषी ठहराउन नमिल्ने बताएका छन् । उनीहरूका अनुसार सार्वजनिक यातायातका चालक वा कर्मचारीले प्रत्येक यात्रुको सामान खोलेर जाँच गर्ने अधिकार वा दायित्व हुँदैन ।
स्थानीयको भनाइमा सीमाबाट नेपाल भित्रिने सामानको प्राथमिक जाँच र नियमन सम्बन्धित भन्सार तथा सुरक्षा निकायको जिम्मेवारी हो । त्यसैले एउटा घटनालाई आधार बनाएर नगरपालिकाले सञ्चालन गरेको नगरबसको छवि नै प्रभावित हुने गरी प्रचार गर्नु उचित नहुने उनीहरूको तर्क छ ।
सीमावर्ती झुलाघाट नाकाबाट दैनिक रूपमा सर्वसाधारणले व्यक्तिगत प्रयोग वा सानो व्यापारका लागि दैनिक उपभोग्य सामान ल्याउने गरेका छन् । तर भारतबाट भन्सार छली गरी बिडी, गुट्खा लगायतका सुर्तिजन्य पदार्थ ल्याउन कानुनले अनुमति दिँदैन । यस्ता सामग्री सीमावर्ती बजारका कतिपय पसलहरूमा सहजै उपलब्ध हुने गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय बैतडीले अवैध कारोबार नियन्त्रणलाई प्राथमिकतामा राखेर काम भइरहेको जनाएको छ । बरामद गरिएको २८ बण्डल बिडीका वास्तविक धनीबारे प्रहरीले हालसम्म कुनै नाम सार्वजनिक गरेको छैन ।
प्रहरीले नाम सार्वजनिक नगरेको मात्रै होइन, उसले बरामद गरेकै दिन भन्सार कार्यालयलाई बुझाउनुपर्ने सामान अझैसम्म पनि बुझाएको छैन ।
महाकाली भन्सार कार्यालयका प्रमुख लोकेन्द्रबहादुर सिंहले भने, “यो विषयमा हामीलाई कम जानकारी हुन्छ । सीमापारिकै सुरक्षा निकायले पनि यत्रो सामान ल्याउन दिँदैन । कसरी आयो ? अनि सीमावारी प्रहरी छ, बसपार्कमा प्रहरी छ, सशस्त्र प्रहरी पनि छ । त्यहीँ बरामद हुनुपर्ने हो । तर त्यो बीचबाटो बुड्डाबाट (महाकालीमा ट्युबमार्फत तारेर) आएको पनि हुन सक्छ । त्यत्रो सामानमा चाहिँ मिलेमतोको आशंका गर्न सकिन्छ । केही दिनअघि पनि यस्तै एउटा घटनामा १ गते भेटेको सामान प्रहरीले हामीलाई ४ गते भेटेको भनेर बुझायो । अहिले पनि मानिसको नाम सार्वजनिक नगर्नुमा शंका त हुने नै भयो । प्रहरीको पनि ढिलासुस्ती किन हो, बुझ्न सकेका छैनौँ ।”
सीमावर्ती क्षेत्रमा पाइने बिडी, गुट्खालगायत सामग्रीबारे सिंहले भने, “यस्तो सामान यहाँ मात्रै नभई जुम्लासम्म पनि पुग्ने रहेछ । पञ्चेश्वर क्षेत्र, सेरा, बुड्डा, दार्चुलालगायत विभिन्न स्थानबाट भित्र्याएर बिक्री गर्ने गरेको पाइन्छ ।”