बैतडीको पाटन नगरपालिका–८ मा रहेका सामुदायिक विद्यालयमा आचारसंहिता लागु गरिएको छ । शिक्षक, विद्यार्थी र अभिभावकहरुका लागि छुट्टछुट्टै आचारसंहिता लागु गरिएको हो । शनिबार जनता मावि आरुबाटामा सम्पन्न वार्षिकोत्सव कार्यक्रममा आचारसंहिता सार्वजनिक गरिएको थियो भने विद्यालयहरुलाई पनि हस्तान्तरण गरिएको हो । यस वडामा चार वटा सामुदायिक विद्यालय रहेका छन् ।
शैक्षिक उपलब्धी हासिल गराउनको लागि कर्तव्यनिष्ठ भएर शिक्षण पेशामा क्रियाशील रहीरहनुपर्ने लगायतका विषय समेटेर शिक्षकले पालना गर्नुपर्ने आचारसंहिता लागु गरिएको छ ।
विद्यार्थीहरुका लागि दैनिक विद्यालय पोशाकमा उपस्थित भई सिकाइमा लगनशील हुनुपर्ने, धुम्रपान, सुर्तीजन्य पदार्थको सेवन नगर्ने र अनुशासित भई बस्ने विषय समाबेस गरि आचारसंहिता लागु गरिएको छ ।
विद्यालयको सर्वाङ्गिण विकासको लागि सहयोग पु¥याउने विषय उल्लेख गरी अभिभावक आचासंहिता पनि लागु गरिएको छ ।
विद्यालयका सर्वपक्षीय विकासको लागि आचारसंहिता लागु गरिएको वडा नं ८ का वडा अध्यक्ष एवं पाटन नगरपालिकाका सामाजिक विकास समिति संयोजक हरिश बिष्टले बताए । जारी गरिएका आचारसंहिता पूर्णतया कार्यान्वयन हुने र शैक्षिक गुणस्तर बृद्धि हुनुका साथै विद्यालयको सर्वाङ्गिण विकास हुने उनको दाबी छ ।
यसैगरी नगरपालिकाभरीका विद्यालयमा पनि आचारसंहिता लागु गरिने उनले बताए ।
गत शैक्षिक सत्र २०७९ मा कक्षा ५ को वडास्तरीय परिक्षाको नतिजामा उत्कृष्ट विद्यार्थीहरुलाई पनि सम्मान गरिएको छ । सोही कार्यक्रममा वडास्तरीय परीक्षामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गरेका चार जना विद्यार्थीहरुलाई पनि नगद सहित प्रमाणपत्र प्रदान गर्दै सम्मान गरिएको हो ।

यसैगरी वडास्तरीय परीक्षा समपन्न गर्न सहयोग पु¥याउने परीक्षा समिति र पदाधिकारी शिक्षकहरुलाई पनि सम्मान गरिएको छ ।
