बैतडीबाट एक सुत्केरी महिलाको हवाई उद्धार गरिएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका १ रीमकी २६ बर्षीया दमयन्ती भट्ट जोशीको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी चन्द्रसिंह डोबालले बताए ।
सोमबार राति शल्यक्रियाद्वारा बच्चा जन्माएकी दमयन्तीको अत्यधिक रक्तश्राव भएका कारण मंगलबार हेलिकप्टरमार्फत कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको उनले बताए ।
दमयन्तीलाई बैतडीमै ६ युनिट रगत चढाएको र थप उपचारका लागि अन्यत्र रेफर गर्नुपरेको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी डोबालले बताए ।
राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दमयन्तीलाई नेपाली सेनाको हेलिकप्टर मार्फत सुविधा सम्पन्न अस्पातलमा लगिएको हो । समस्यामा परेका गर्भवती तथा सुत्केरी महिलाहरुलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तगर्त हेलिकप्टरमार्फत उद्धार गरिँदै आएको छ ।
महिला बालबालिका जेष्ठ नागरीक मन्त्रालय मार्फत सञ्चालीत राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत बैतडीमा हाल सम्म ८ जना गभर्वती तथा सुत्केरी महिलाहरुको हवाइ उद्वार गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीका प्रशासकिय अधिकृत एवं सूचना अधिकारी शंकर बहादुर बोहराले जानकारी दिए । दुर्गम क्षेत्रका गर्भवति तथा सुत्केरी महिलाहरुका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रम प्रभाकारी बन्दै गएको छ ।