बैतडी,
बैतडीको पाटन नगरपालिका–३ स्थित सिगास माविमा क्याम्पस स्थापना गर्नेबारे पहल सुरु भएको छ । स्नातक तहसम्मको पठनपाठनका लागि आवश्यक सुरुवाती प्रक्रिया अघि बढाएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ । यही भाद्र २१ गते सुदूरपश्चिम विश्वाविद्यालय समक्ष स्नातक तह सञ्चालनका लागि निवेदन पेश गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सिंह भाटले जानकारी दिए । विश्व विद्यालयले आह्वान गरेको सूचनाको आधारमा निवेदन पेश गरिएको र सम्बन्धन पाउने वा नपाउने विश्वविद्यालयको हातमा रहेको उनले बताए । तर यसक्षेत्रको शैक्षिक विकासका लागि सिगास माविमा क्याम्पस सञ्चालन गर्ने धेरै आधार रहेको भाटको दाबी छ । आधा दर्जन हाराहारीमा १२ सम्मको अध्यान भइरहेका विद्यालय रहेका छन् भने सिगास माविमै पनि पनि वर्षेनी ५० देखि ६० जना विद्यार्थीहरु स्नातक तह अध्यानका लागि बाहिरिने गरेका छन् । सिगास माविकै आधाभन्दा बढी विद्यार्थीहरुलाई पनि रोक्न सकेपछि क्याम्पस सञ्चालन गर्न सकिने विद्यालयको दाबी छ ।
क्याम्पस स्थापनाको लागि विषय शिक्षक देखि भौतिक संरचना र आवश्यक कोष खडा गर्नुपर्ने प्रावधान अनुरुप आर्थिक सहयोग संकलनको अभियान थालिएको छ । विद्यालय क्षेत्रभित्रका गाउँ र अन्य निकायबाट सहयोगको अपिल गरिएको छ । आर्थिक मात्रै नभई विद्यालयलाई भौतिक रुपमा पनि सहयोग गर्न सकिने विव्यस अध्यक्ष भाटले बताए । ‘हामी आर्थिक सहयोग संकलनको लागि गाउँगाउँमा छौँ, आर्थिक सहयोग गर्न नसक्नेले विद्यालयका संरचना निर्माण गर्न ढुंगा गिट्टी, काठ लगायतका सर सामाग्री पनि सहयोग गर्न सक्छन्,’ उनले भने ।
आर्थिक तथा भौतिक सहयोग गर्ने अविभावकहरुको सम्मान गरिनुका साथै विद्यालयले अभिलेखमा समटिने उनले बताए ।
सबै क्षेत्रबाट आश्यक सहयोग भएमा यस क्षेत्रमा क्याम्पस सञ्चालन गर्न सकिने विद्यालयको दाबी छ ।