बैतडीको सिगास गाउँपालिकाले आयोजना गरेको स्वास्थ्य शिविरबाट तीन सय बढीले सेवा लिएका छन् । निशुल्क प्रजनन् रुग्णताको स्क्रिनिङ तथा व्यवस्थापन सम्बन्धीत स्वास्थ्य शिविरबाट पालिकाका वडा नम्बर ६, ७, ८ र ९ का स्थानीयहरुले सेवा लिएका कार्यक्रम संयोजक जनस्वास्थ्य निरीक्षक भिम सिंह ऐरले जानकारी दिए ।
पालिकाको वडा नम्बर ६ को थलकाडा स्वास्थ्य चौकीबाट ७५ जना, वडा नम्बर ७ को आधारभुत स्वास्थ्य सेवा केन्द्र न्वाघरबाट ८५ जना, ८ को शिवलिङ् स्वास्थ्य चौकीबाट ९०, र वडा नम्बर ९ को चौखाम स्वास्थ्य चौकीबाट ७० जनाले सेवा लिएका ऐरले जानकारी दिए ।
सम्बन्धीत वडामा रहेको स्वास्थ्य संस्थाहरुमा शिविरको आयोजना गरिएको थियो । माघ १९ गते थलाकाडा स्वास्थ्य चौकी, २१ गते न्वाघर आधारभुत स्वास्थ्य सेवा केन्द्र, २३ गते शिवलिंग स्वास्थ्य चौकीमा र २५ गते चौखाम स्वास्थ्य चौकीमा शिविर सञ्चालन भएको हो ।
ग्रामीण क्षेत्रका अधिंकाश महिलाहरु न्युन आर्थिक अवस्था र स्वास्थ्य संस्था भन्दा टाढा रहेका कारण रोग लुकाएर बस्न बाध्य रहेका छन् । शिविरहरुमा अधिकांश महिलाहरुमा पाठेघार खस्न, प्रजनन् स्वास्थ्यमा रोगको संक्रमण भएका जस्ता समस्या भेटिएको कार्यक्रम संयोजक ऐरले बताए ।
उक्त शिविरमा प्रजनन् रुग्णता, स्तन क्यानसरको स्क्रिनिङ, अव्स्टेट्रीक फिस्टुला स्क्रनिङ, पाठेघर खसेका महिलाहरुको पहिचना तथा रिंग पेसरी, पाठेघरको मुखको क्यान्सरको स्क्रनिङ लगायत, गर्भवति महिलाहरुका लागि अल्ट्रासाउन्ड, बृहत स्वास्थ्य शिक्षा र परामर्श सेवा प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।