बैतडी, सार्वजनिक स्थान तथा वन क्षेत्रको सीमाभित्र निर्माण गरिएका भौतिक संरचना हटाउने सरकारी तयारीविरुद्ध बैतडीको ढोल्यामोडका बासिन्दा आक्रोशित बनेका छन् । स्थानीयहरूले आफूहरू वर्षौंदेखि बसोबास गर्दै आएको स्थानमा कुनै क्षति नपुर्याएको तथा वन संरक्षणसँगै सरकारी निकायलाई सहयोग गर्दै व्यवसाय सञ्चालन गरिरहेको बताएका छन् ।
स्थानीय प्रजापति मडैले आफूहरू बाजेको पालादेखि नै उक्त स्थानमा बसोबास गर्दै आएको बताउँदै सरकारले घर–पसल भत्काउने निर्णय अन्यायपूर्ण भएको बताए । “यहाँ कुनै ठूला खानी–खनिज छैनन् । सरकारले हाम्रा घर भत्काएर के बहादुरी देखाउन खोजेको हो थाहा छैन,” उनले भने । उनका अनुसार केही व्यवसायीले यही घर–पसल देखाएर बैंक तथा वित्तीय संस्थाबाट लाखौं रुपैयाँ ऋणसमेत लिएका छन् । “यी संरचना भत्काइए हामीसँग जाने ठाउँ रहने छैन,” उनले भने ।
अर्का स्थानीय दिनेश बोहराले सरकारले आफूहरू बस्दै आएका घर भत्काए नेपाली नागरिकता त्यागेर भारतमा शरणार्थी बन्नुपर्ने अवस्था आउने बताए । उक्त विषय प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सरोकारवालासमक्ष राखिसकेको उनको भनाइ छ ।
ढोल्यामोड बजार व्यवस्थापन समितिका अध्यक्ष हरीबहादुर बोहराले सरकारको ध्यान ढोल्यामोडमा मात्रै केन्द्रित हुनु दुःखद भएको बताए । “बैतडी सदरमुकामदेखि अन्य स्थानका सडकछेउका संरचना हटाउने कुरा उठ्दैन, तर जहिल्यै ढोल्यामोडमात्रै निशानामा पर्छ,” उनले भने ।
उनले स्थानीयहरू कुनै पनि हालतमा घर–पसल भत्काउन नदिने चेतावनी दिँदै सुरुमा सम्बन्धित निकायसँग अनुरोध गर्ने र आवश्यकता परे आन्दोलनमा उत्रिने बताए । “हामी कुनै पनि हालतमा यहाँका घरहरू भत्काउन दिँदैनौं । सुरुमा अनुरोध गर्छौं, त्यसपछि आन्दोलन गर्छौं,” उनले भने ।