
काठमाडौं । स्ट्राइकर अर्लिङ हालान्डको उत्कृष्ट प्रदर्शनमा नर्वेले पाँच पटकको विश्वकप विजेता ब्राजिललाई पराजित गर्दै पहिलो पटक फिफा विश्वकपको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ।
अमेरिकाको न्यु जर्सीमा सम्पन्न अन्तिम–१६ को प्रतिस्पर्धात्मक खेलमा नर्वेले ब्राजिललाई २–१ ले हरायो। हालान्डले दोस्रो हाफमा दुई गोल गर्दै नर्वेको ऐतिहासिक जित सुनिश्चित गरे।
खेलको चौथो मिनेटमै प्याट्रिक बर्गले बल जाली चुमाए पनि अलेक्जेन्डर सोर्लोथ अफसाइडमा परेपछि गोलले मान्यता पाएन। त्यसपछि ब्राजिलले अग्रता लिने सुनौलो अवसर पाए पनि क्रिस्टोफर अजरको फउलपछि प्राप्त पेनाल्टीमा ब्रुनो गुइमाराएसको प्रहार नर्वेका गोलकिपर ओर्जन नाइल्यान्डले बचाए। नाइल्यान्डले खेलभरि उत्कृष्ट प्रदर्शन गर्दै विनिसियस जुनियरको प्रहारसमेत विफल पारे।
लामो समय गोलरहित बनेको खेलको ७९औँ मिनेटमा एन्ड्रियस स्चेल्डरुपको क्रसलाई हालान्डले आकर्षक हेडमार्फत गोलमा परिणत गर्दै नर्वेलाई अग्रता दिलाए। त्यसपछि ९०औँ मिनेटमा उनले बक्स बाहिरबाट शक्तिशाली 'लो ड्राइभ' प्रहार गर्दै व्यक्तिगत दोस्रो तथा टोलीका लागि निर्णायक गोल गरे।
इन्जुरी समयमा ब्राजिलका नेयमारले पेनाल्टीमार्फत एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। यससँगै ब्राजिल सन् १९९० यताकै पहिलो पटक विश्वकपको क्वार्टरफाइनल पुग्नुअघि नै प्रतियोगिताबाट बाहिरिएको छ।
यस खेलमा दुई गोल थपेपछि हालान्डको प्रतियोगितामा कुल गोल संख्या सात पुगेको छ। उनी गोल्डेन बुटको प्रतिस्पर्धामा फ्रान्सका किलियन एम्बाप्पे र अर्जेन्टिनाका लियोनेल मेसीसँग संयुक्त रूपमा शीर्ष स्थानमा रहेका छन्।
खेलमा हालान्ड र ब्राजिलका डिफेन्डर गाब्रियलबीचको प्रतिस्पर्धा पनि आकर्षणको केन्द्र बन्यो। पहिलो हाफमा संयमित देखिएका हालान्डले दोस्रो हाफमा निर्णायक भूमिका निभाउँदै आफ्नो प्रभाव प्रमाणित गरे।
ब्राजिलको अप्रत्याशित हारसँगै मुख्य प्रशिक्षक कार्लो एन्सेलोट्टीमाथि दबाब बढेको छ। खेलभर ब्राजिलले बलमाथि केवल ३३.५ प्रतिशत नियन्त्रण कायम राखे पनि सिर्जना भएका अवसरलाई गोलमा परिणत गर्न सकेन।
अब क्वार्टरफाइनलमा नर्वेले इंग्ल्याण्ड वा सह–आयोजक मेक्सिकोमध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ।