बैतडी ।
द्वन्द्वकालमा एम्बुसमा परेर दुवै आँखाको दृष्टि गुमाएका बैतडीको डिलाशैनी गाउँपालिका–३, सिमारका बिक्रमबहादुर राना आज नेपालका सफल पारालम्पियन खेलाडीका रूपमा परिचित छन् । नेपाली सेनाका उपसेनानीसमेत रहेका रानाले अपाङ्गतालाई कमजोरी होइन, सफलताको आधार बनाउँदै अन्तर्राष्ट्रिय खेलकुदमा नेपालको नाम चिनाएका छन् ।
दृष्टि गुमेपछि धेरैका लागि जीवनको यात्रा कठिन बन्ने अवस्था आउँछ । तर रानाले हार मानेनन् । उनले खेलकुदलाई आफ्नो नयाँ गन्तव्य बनाए र अथक मेहनतका साथ अन्तर्राष्ट्रिय स्तरसम्म पुग्न सफल भए ।
रानाले सन् २०१२ र २०१६ को पारालम्पिक खेलकुदमा नेपालको प्रतिनिधित्व गरेका छन् । एथ्लेटिक्सतर्फ उत्कृष्ट प्रदर्शन गर्दै उनले दक्षिण एसियाली स्तरमा कीर्तिमानसमेत कायम गरेका छन् । उनी नेपालको ब्लाइन्ड क्रिकेट टोलीका सदस्य समेत हुन् र तीन वटा ब्लाइन्ड क्रिकेट विश्वकप खेलिसकेका छन् ।
उनको संघर्ष र योगदानको कदर गर्दै सुदूरपश्चिम प्रदेश सरकारले आइतबार आयोजित विशेष कार्यक्रममा सुदूरपश्चिमबाट ओलम्पिक र पारालम्पिकमा सहभागी १० जना खेलाडीलाई सम्मानपत्रसहित जनही ७० हजार रुपैयाँ नगद प्रदान गरी सम्मान गरेको छ ।
सम्मानित हुनेमा ओलम्पिक र पारालम्पिकमा सहभागी खेलाडीमध्ये विक्रम बहादुर राना (एथ्लेटिक्स २०१२ र २०१६) बक्सिङका विष्णु सिंह, डम्बरदत्त भट्ट(१९८८), स्वर्गीय भरत साउद (भारत्तोलन, १९८८), दीपक बिष्ट (तेक्वान्दो २००८), सरस्वती भट्टराई (एथ्लेटिक्स २०१६ ), निशा रावल (तेक्वान्दो २०१६), गौरिका सिंह (पौडी २०१६ ), प्रिन्स दाहाल (ब्याडमिन्टन २०२४), भरत महता (पारातेक्वान्दो २०२४) लगायतका खेलाडी सम्मानित भएका छन् । सम्मानित खेलाडीहरूमा ओलम्पियन र पारालम्पियन दुवै क्षेत्रका खेलाडी समावेश थिए । उनीहरूको अन्तर्राष्ट्रिय उपलब्धिको सम्मानस्वरूप प्रदेश सरकारले यो कार्यक्रम आयोजना गरेको हो ।
बिक्रमबहादुर रानाको जीवनले देखाएको छ–शारीरिक अपाङ्गता सफलताको अवरोध होइन, आत्मविश्वास, निरन्तर अभ्यास र दृढ इच्छाशक्ति भए जुनसुकै चुनौतीलाई जित्न सकिन्छ ।
द्वन्द्वले उनको दृष्टि खोस्यो, तर सपना खोस्न सकेन । आज उनी केवल एक सफल खेलाडी मात्र होइनन्, कठिन परिस्थितिमा पनि अघि बढ्न चाहने हजारौं नेपालीका लागि प्रेरणाको प्रतीक बनेका छन् ।