
काठमाडौं — फिफा विश्वकप–२०२६ अन्तर्गत अन्तिम १६ को खेलमा अर्जेन्टिनासँग ३–२ गोलअन्तरले पराजित भएपछि इजिप्ट फुटबल संघ (EFA) ले रेफ्रीको निर्णयप्रति गम्भीर असन्तुष्टि जनाउँदै फिफामा औपचारिक उजुरी दर्ता गरेको छ। संघले खेल सञ्चालन गर्ने रेफ्री टोलीमाथि पक्षपातपूर्ण निर्णय गरेको आरोप लगाउँदै उनीहरूलाई प्रतियोगिताबाट हटाउनसमेत माग गरेको छ।
एटलान्टामा सम्पन्न अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा रेफ्रीले ‘दोहोरो मापदण्ड’ अपनाएको इजिप्टको दाबी छ। संघका अनुसार पहिलो विवाद इजिप्ट १–० ले अगाडि रहेका बेला मोस्ताफा जिकोले गरेको गोल भीएआर (VAR) समीक्षा पछि रद्द गरिनु हो। रेफ्रीले त्यसअघि इजिप्टका एक खेलाडीले अर्जेन्टिनाका डिफेन्डर लिसेन्द्रो मार्टिनेजमाथि फाउल गरेको निष्कर्ष निकालेका थिए।
इजिप्टले दोस्रो विवाद खेलको अन्तिम समयमा भएको दाबी गरेको छ। उसका अनुसार मोहम्मद सलाहलाई अर्जेन्टिनाको पेनाल्टी क्षेत्रभित्र लडाइँदा पनि रेफ्रीले पेनाल्टी वा फाउल नदिए। त्यसलगत्तै अर्जेन्टिनाले तीव्र प्रतिआक्रमण गर्दै निर्णायक गोल गरेपछि खेलको नतिजा आफ्नो पक्षमा पारेको थियो।
इजिप्ट फुटबल संघका अध्यक्ष हानी अबु रिदाले फ्रान्सेली रेफ्री फ्रान्कोइस लेटेक्सियर र उनको अफिसियल टोलीविरुद्ध फिफामा उजुरी दर्ता गरेका छन्। संघले रेफ्रीको निर्णयलाई इजिप्टविरुद्ध भएको ‘गम्भीर भेदभाव’ भन्दै केही महत्त्वपूर्ण भिडियो दृश्यहरू हेर्नसमेत अस्वीकार गरिएको आरोप लगाएको छ।
खेलपछि प्रतिक्रिया दिँदै इजिप्टका मुख्य प्रशिक्षक होसाम हसनले टोलीमाथि ठूलो अन्याय भएको दाबी गरे। उनले विश्वविजेता अर्जेन्टिनालाई प्रतियोगितामा अघि बढाउने उद्देश्यले निर्णय प्रभावित भएको आशंका व्यक्त गरे। यस्तै, स्ट्राइकर मोस्ताफा जिकोले प्रतियोगिताको निष्पक्षतामाथि नै प्रश्न उठाउँदै खेल ‘मिलेमतोपूर्ण’ भएको आरोपसमेत लगाएका छन्।
यद्यपि, फुटबल विश्लेषकहरूले इजिप्टको उजुरीले खेलको नतिजा परिवर्तन हुने सम्भावना अत्यन्त न्यून रहेको बताएका छन्। फिफाको अभ्यासअनुसार रेफ्रीका निर्णयहरू प्रायः अन्तिम मानिने भएकाले यस्ता उजुरीहरूबाट खेलको परिणाम उल्टिने उदाहरण विरलै छन्।
यसबीच अर्जेन्टिनाले क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्दै शनिबार कान्सास सिटीमा स्विट्जरल्याण्डसँग प्रतिस्पर्धा गर्ने तालिका तय भएको छ। इजिप्ट भने विवादास्पद हारको पीडासहित विश्वकप यात्राबाट बाहिरिएको छ।