बैतडी ।
बैतडीको डिलाशैनी गाउँपालिकामा जनश्रमदानबाट निर्माण गरिएको सडकमा मेसिन प्रयोग गरेका ठेकेदारले सात वर्ष बितिसक्दा पनि आफ्नो पारिश्रमिक नपाएको गुनासो गरेका छन् । सडक निर्माण अभियानको नेतृत्व गरेका सन्तोष जोशी अहिले गाउँपालिकाको अध्यक्ष भइसके पनि कार्यकाल सकिनै लाग्दा समेत भुक्तानी नपाएपछि ठेकेदार महेशसिंह विष्ट आन्दोलनमा उत्रिने भएका हुन् ।
विष्टले अध्यक्ष जोशीविरुद्ध जनश्रमदान कार्यक्रमअन्तर्गत सडक निर्माणमा प्रयोग गरिएको मेसिनको बाँकी रकम भुक्तानी गर्न माग गर्दै शान्तिपूर्ण आन्दोलनको घोषणा गरेका छन् ।
उनका अनुसार आर्थिक वर्ष २०७७ मा जनश्रमदानमार्फत निर्माण गरिएको देवझाडी–शेरा–नगराउँ–डिलाशैनी सडकको करिब १४ किलोमिटर खण्डमा आफ्नो मेसिनबाट ५६२ घण्टा काम गरेका थिए । उक्त कामबापत रु. २१ लाख ३५ हजार ६ सय पाउनुपर्ने भए पनि हालसम्म रु. ९ लाख ९० हजार मात्रै प्राप्त भएको उनले बताएका छन् ।
विष्टका अनुसार अझै रु. ११ लाख ४५ हजार ६ सय भुक्तानी हुन बाँकी छ । सात वर्षसम्म पनि रकम नपाएको भन्दै उनले चलनचल्तीअनुसार वार्षिक २० प्रतिशत ब्याजसहित बाँकी रकम उपलब्ध गराउन माग गरेका छन् ।
उनले न्यायका लागि पटक–पटक सम्बन्धित निकायमा आग्रह गर्दा पनि सुनुवाइ नभएको दाबी गरेका छन् । न्यायिक समितिमा उजुरी दिँदा समेत कुनै निर्णय नभएपछि डिलाशैनी र गोकुलेश्वर बजारमा ब्यानरसहित शान्तिपूर्ण अनशन बस्ने तयारी गरेको उनले बताए ।
विष्टले आन्दोलनबाट पनि समस्या समाधान नभए गाउँपालिका अध्यक्ष सन्तोष जोशीविरुद्ध कानुनी प्रक्रिया अघि बढाउने चेतावनी दिएका छन् ।
यता, मेसिन प्रयोगबापतको भुक्तानी नदिएको आरोप अस्वाभाविक भएको डिलाशैनी गाउँपालिका अध्यक्ष सन्तोष जोशीले बताएका छन् । उनले काम गरेको समय र प्रतिघण्टा दर दुवै बढाएर दाबी गरिएकाले मागअनुसारको रकम दिन नसकिएको बताए ।
अध्यक्ष जोशीका अनुसार विष्टको मेसिन ५६२ घण्टा नभई जम्मा ४६० घण्टा मात्र प्रयोग भएको हो । सुरुमा प्रतिघण्टा ३ हजार रुपैयाँका दरले मौखिक सहमति भएको र पछि सार्वजनिक सुनुवाइका क्रममा प्रतिघण्टा ३ हजार ५ सय रुपैयाँ दिने कुरा उठेको उनले बताए ।
“उहाँको मेसिन प्रयोग भएको जम्मा ४६० घण्टा हो । तर १०० घण्टा थपेर हिसाब पेश गर्नुभएको छ । सुरुमा प्रतिघण्टा ३ हजार रुपैयाँमा मौखिक सहमति भएको थियो । अहिले ३ हजार ८ सय रुपैयाँका दरले माग गरेपछि कसरी दिन सकिन्छ ? उहाँ आफैंले एक पटक ५१० घण्टाको हिसाब पनि देखाउनुभएको थियो । मैले ५१० घण्टाकै ३ हजार ५ सय रुपैयाँका दरले दिन्छु भन्दा पनि मान्नुभएन । वास्तविक सहमति ३ हजार रुपैयाँकै थियो । सार्वजनिक सुनुवाइमा ३ हजार ५ सय रुपैयाँ दिने कुरा उठेपछि त्यही दरमा हामी सहमत भएका हौँ । हाम्रो अभिलेखअनुसार ४१० घण्टा हाम्रै रेखदेखमा काम भएको हो र थप ५० घण्टा हामी नभएको बेला काम भएकाले ४६० घण्टा स्वीकार गरेका छौँ । तर अस्वाभाविक रकम हामी दिँदैनौँ । वास्तविक हिसाबअनुसारको रकम यही महिनाभित्र उहाँको खातामा जम्मा गरिदिन्छौँ वा चेक मार्फत भुक्तानी गछौँ । उहाँले १० लाख माथी दावी गर्नुभएको छ, हाम्रो अभिलेख अनुसार ४लाख दिनुपर्ने हो हामी त्यो रकम दिन्छौँ” अध्यक्ष जोशीले भने ।
युवाहरुले श्रमदान संगै आन्दोलन गरेर बनाएका थिए सडक ।
२०७७ सालमा गोकुलेश्वर–धामीगाउँ सडक निर्माणको माग गर्दै स्थानीय युवाले तत्कालीन गाउँपालिका नेतृत्वविरुद्ध आन्दोलन गरेका थिए । सरकारी निकायबाट सडक निर्माणमा चासो नदेखिएको भन्दै स्थानीयवासीले जनश्रमदान, विभिन्न व्यक्तिबाट संकलित चन्दा तथा सहयोगमा सडक निर्माण गरेका थिए ।
त्यतिबेला कसैले डिजेल, कसैले नगद तथा अन्य सामग्री सहयोग गरेका थिए । तर, उक्त अभियानमा संकलित रकमको खर्च तथा हिसाब–किताबबारे समेत पारदर्शिता नभएको भन्दै स्थानीयस्तरमा प्रश्न उठ्दै आएको छ । केही स्थानीयले चन्दा र सहयोग रकममा समेत अनियमितता भएको आशंका व्यक्त गरेका छन् ।