धनगढी : नेपाल चिकित्सक संघले घोषणा गरेको देशव्यापी आन्दोलनको प्रभाव सुदूरपश्चिमको रेफरल अस्पतालका रूपमा रहेको सेती प्रादेशिक अस्पतालमा पनि परेको छ । आन्दोलनका कारण मंगलबार अस्पतालको बहिरङ्ग (ओपीडी) सेवा पूर्ण रूपमा बन्द हुँदा दैनिक उपचारका लागि आउने करिब पन्ध सयसम्म बिरामी प्रभावित भएका छन्।
अस्पतालमा नियमित रूपमा सञ्चालन हुँदै आएको ओपीडी सेवा बन्द भएपछि उपचारका लागि आएका बिरामीहरू मर्कामा परेका छन् । ओपीडीमा सेवा नपाएपछि अधिकांश बिरामी आपत्कालीन (इमर्जेन्सी) कक्षमा पुग्न बाध्य भएका छन् ।
यसले इमर्जेन्सी सेवामा अत्यधिक भिडभाड भएको अस्पतालले जनाएको छ । बिरामीको चाप बढेपछि स्वास्थ्यकर्मीहरूलाई सेवा प्रवाह गर्नसमेत कठिनाइ भएको देखिएको छ । अस्पतालका व्यवस्थापक बेदप्रकाश जोशीका अनुसार चिकित्सकहरूको आन्दोलनका कारण मंगलबार ओपीडीमा कुनै पनि चिकित्सक उपस्थित भएका छैनन् । उनले आपत्कालीन सेवा भने नियमित रूपमा सञ्चालनमा रहेको जानकारी दिए । ‘इमर्जेन्सी सेवा सुचारु छ, तर ओपीडी सेवा पूर्णरूपमा बन्द भएकाले बिरामीहरू प्रभावित भएका छन्,'उनले भने ।
त्यस्तै,यसअघि नै योजना बनाइएका शल्यक्रियाबाहेक अन्य सबै शल्यक्रिया सेवा पनि स्थगित गरिएको अस्पतालले जनाएको छ । आकस्मिक अवस्थाका बिरामीलाई आवश्यक सेवा उपलब्ध गराइए पनि नियमित शल्यक्रिया तथा परामर्श सेवा रोकिँदा सेवाग्राहीले सास्ती खेप्नु परेको छ ।
नेपाल चिकित्सक संघले नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोध गर्दै देशभरका सरकारी तथा निजी स्वास्थ्य संस्थामा ओपीडी सेवा बन्द गरी आन्दोलन थालेको हो ।
चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाको सुनिश्चितता,दोषीमाथि कारबाही र सुरक्षित कार्य वातावरणको माग गर्दै संघले आन्दोलन जारी राखेको जनाएको छ ।
यस आन्दोलनका कारण सुदूरपश्चिम प्रदेशकै प्रमुख रेफरल अस्पतालमा सेवा प्रभावित हुँदा उपचारका लागि टाढाटाढाबाट आएका बिरामी निराश भएर फर्किन बाध्य भएका छन् । आन्दोलन कहिलेसम्म जारी रहने भन्ने टुंगो नलागेकाले स्वास्थ्य सेवा थप प्रभावित हुने चिन्ता बढेको छ ।