बैतडी, साउन ३ — सुर्नया गाउँपालिका–४ स्थित भौनेली स्वास्थ्य चौकीले आर्थिक वर्ष २०८२/८३ को आय–व्यय विवरण सार्वजनिक सुनुवाइ कार्यक्रममार्फत सार्वजनिक गरेको छ।
कार्यक्रममा स्वास्थ्य संस्थाको आर्थिक अवस्था, सेवा प्रवाह तथा आगामी प्रतिबद्धताबारे जानकारी गराइएको थियो।
स्वास्थ्य चौकी प्रमुख सुरेन्द्र सिंह महराका अनुसार आर्थिक वर्ष २०८२/८३ मा स्वास्थ्य चौकीको कुल आय रु. १ लाख ७५ हजार ५२५ रहेको छ। सो अवधिमा रु. ९९ हजार ११० खर्च भएको तथा रु. ७६ हजार ४१५ बैंक मौज्दात रहेको जानकारी स्वास्थ्य प्रमुख महराले जानकारी दिनु भयो ।
त्यसैगरी, भौनेली स्वास्थ्य चौकीअन्तर्गत सञ्चालित शान्तिपुर सामुदायिक स्वास्थ्य इकाईका प्रमुख विनोद प्रसाद भट्टका अनुसार इकाईको कुल आय रु. २ लाख ३२ हजार २२९, खर्च रु. १ लाख २ हजार ९५० तथा बैंक मौज्दात रु. १ लाख २९ हजार २७९ रहेको छ।
कार्यक्रमकै अवसरमा भौनेली स्वास्थ्य चौकीमा कार्यरत एएनएम भावना धामीलाई स्वास्थ्य सेवामा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो।
स्वास्थ्य चौकीका अनुसार आमा सुरक्षा कार्यक्रम, सुरक्षित गर्भपतन सेवा, प्रयोगशाला सेवाबाट प्राप्त आम्दानी तथा गत आर्थिक वर्षको मौज्दात रकम आयतर्फ समावेश गरिएको हो। खर्चतर्फ प्रसूति यातायात सुविधा, गर्भवती उत्प्रेरणा कार्यक्रम, स्वास्थ्यकर्मी तथा सरसफाइ कर्मचारीको पारिश्रमिक, औषधि तथा प्रयोगशाला सामग्री खरिद, कार्यालय व्यवस्थापन, स्टेशनरी, जनचेतनामूलक कार्यक्रम, ल्याब सेवा भत्ता तथा ल्यान्डलाइन फोन रिचार्जलगायतका शीर्षकमा रकम खर्च गरिएको जनाएको छ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा स्वास्थ्य चौकीले आर्थिक अवस्था र सेवा प्रवाहसम्बन्धी विवरण प्रस्तुत गर्दै नागरिकप्रति जवाफदेहिता, पारदर्शिता र सुशासनलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, सरोकारवाला निकायका प्रतिनिधि तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।