बैतडी — सुर्नया गाउँपालिका–८, ढोले रातापानी टोलमा मंगलबार साँझ करिब ७ बजे गएको पहिरोका कारण स्थानीयवासी त्रसित बनेका छन्। पहिरोले घर–आँगन, खेतीयोग्य जमिन, मकैबाली तथा फलफूलमा क्षति पुर्याउनुका साथै केही परिवारको घरसमेत उच्च जोखिममा पारेको छ।
प्रारम्भिक विवरणअनुसार गम्भीरसिंह बोहराको करिब ३ रोपनी जमिनमा लगाइएको मकै तथा फलफूलमा क्षति पुगेको छ। घर नजिकैबाट पहिरो गएकाले उनको घर–आँगनसमेत जोखिममा परेको छ। त्यस्तै, जयसिंह, नरबहादुर, शलेन्द्र र कृष्ण बोहराको करिब ५ रोपनी खेतीयोग्य जमिनमा समेत क्षति पुगेको स्थानीयले बताएका छन्।
उद्भव बोहराको घर उच्च जोखिममा परेको छ। पहिरोका कारण घर–आँगनको पर्खाल, शौचालय र भान्सा पूर्ण रूपमा भत्किएका छन्। विद्युत्को पोलसमेत ढल्ने अवस्थामा पुगेको छ। उनको करिब २ रोपनी जमिनमा लगाइएको मकै तथा फलफूल पहिरोले पुरेको छ।
त्यस्तै, धनुवा बोहराको घर पनि उच्च जोखिममा परेको छ। घर–आँगनको पर्खाल, शौचालय र भान्सामा पूर्ण क्षति पुगेको छ। विद्युत्को मुख्य पोल ढलेर तारसमेत टुटेको छ। करिब ३ रोपनीमा लगाइएको मकै तथा फलफूल पूर्ण रूपमा नष्ट भएको छ भने खानेपानीको पाइपसमेत बगेको छ। पहिरोको जोखिमका कारण धनुवा बोहरा छिमेकीको घरमा आश्रय लिएर बस्नुपर्ने अवस्थामा पुगेका छन्।
वडा अध्यक्ष भानबहादुर बोहराका अनुसार रामसिंह बोहराको घर पनि उच्च जोखिममा छ। घरको आँगन पहिरोले बगाएको छ भने विद्युत्को पोल ढल्ने अवस्थामा पुगेको छ। घर छाउन ल्याइएको करिब १ लाख रुपैयाँ बराबरको ढुंगासमेत पहिरोले बगाएको बताइएको छ। करिब ३ रोपनीमा लगाइएको मकैबाली तथा फलफूलमा क्षति पुगेको छ। रातको समयमा पहिरोको डरले रामसिंहको परिवार छिमेकीको घरमा गएर बस्नुपर्ने अवस्था रहेको स्थानीयले बताएका छन्।
मिना बोहराको घर–आँगनमा समेत दरार परेको छ। करिब २ रोपनी मकैबारी तथा फलफूलमा क्षति पुगेको छ भने विद्युत्को तार टुटेर पोलसमेत ढल्ने अवस्थामा पुगेको मानबहादुर बोहराले जानकारी दिए।
चक्र बोहराको करिब २ रोपनी जमिनमा लगाइएको मकैबाली तथा फलफूलमा क्षति पुगेको छ। आनन्दसिंह बोहराको करिब डेढ रोपनी तथा धौली बोहराको करिब डेढ रोपनी जमिनमा लगाइएको मकै तथा फलफूलमा समेत पहिरोले क्षति पुर्याएको छ।
त्यस्तै, जनक, लाल, पठानसिंह र भानबहादुर बोहराको करिब ५ रोपनी खेतीयोग्य जमिनसमेत पहिरोको उच्च जोखिममा रहेको वडा अध्यक्ष बोहराले बताए।
स्थानीयका अनुसार गम्भीरसिंह बोहरा, धनुवा बोहरा, उदयसिंह, रामसिंह, मिना बोहरा, चक्र बोहरा र कृष्ण बोहरालगायतका परिवार उठिबास हुने अवस्थामा पुगेका छन्। पहिरो थप सक्रिय हुने जोखिम रहेकाले स्थानीयहरू रातको समयमा त्रासमा बस्न बाध्य भएका छन्।
वडा अध्यक्ष बोहराका अनुसार उक्त क्षेत्रमा २०७४ सालदेखि नै पहिरोको समस्या देखिँदै आएको भए पनि यसको प्रभावकारी नियन्त्रण तथा दीर्घकालीन समाधान हुन सकेको छैन। वर्षायाम सुरु भएसँगै पहिरो थप सक्रिय भएपछि स्थानीयको जोखिम झनै बढेको छ।
स्थानीय सरकारले पटक–पटक पहिरो नियन्त्रण तथा समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिँदै आए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको स्थानीयको गुनासो छ। वडा अध्यक्ष बोहराले आफू स्थानीय सरकारकै जनप्रतिनिधि भए पनि वर्षौंदेखि पहिरोको जोखिममा रहेका बस्ती तथा खेतीयोग्य जमिनको संरक्षणका लागि पटक–पटक कार्यपालिकामा ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको बताए।
उनले तत्काल पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्न, क्षतिको यथार्थ मूल्यांकन गर्न तथा विद्युत् र खानेपानी सेवा पुनःस्थापना गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
स्थानीयवासीले पनि तत्काल राहत तथा उद्धारसँगै पहिरो नियन्त्रणका लागि अल्पकालीन राहतभन्दा दीर्घकालीन र ठोस योजना बनाउन स्थानीय सरकार तथा सम्बन्धित निकायसँग माग गरेका छन्।