काठमाडौँ ।
काठमाडौंमा सुदूरपश्चिमको मौलिक संस्कृति, परम्परा र पहिचान झल्काउने ओल्के पर्व,गुरही तथा बुढी हाल्ने पर्व भव्य रूपमा मनाइएको छ । सुदूरपश्चिम कलाकार समाजको आयोजनामा चोभार डाँडामा आयोजित कार्यक्रममा सुदूरपश्चिमेलीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रमको अध्यक्षता सुदूरपश्चिम कलाकार समाजका अध्यक्ष भानुभक्त जोशीले गरेका थिए भने, प्रमुख अतिथिका रूपमा प्रतिनिधि सभा सदस्य डा. आनन्दबहादुर चन्द तथा विशिष्ट अतिथिका रूपमा वरिष्ठ लोक डेउडा गायक नन्दकृष्ण जोशीको उपस्थिति रहेको थियो ।
कार्यक्रममा काठमाडौंमा बसोबास गर्ने सुदूरपश्चिमेली कलाकार, समाजसेवी, व्यवसायी तथा विभिन्न क्षेत्रका २०० भन्दा बढी व्यक्तिको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागीहरूले डेउडा खेल्दै सुदूरपश्चिमको मौलिक कला, संस्कृति र परम्पराबारे जानकारी गराएका थिए । चोभार डाँडामा परम्पराअनुसार बुढी हाल्ने कार्यक्रमसमेत गरिएको थियो । डेउडा खेलमा सहभागीहरू उत्साहका साथ झुमेका थिए ।

कार्यक्रममा वरिष्ठ डेउडा गायक नन्दकृष्ण जोशी, भानुभक्त जोशी, उमाशंकर जोशी, कल्पना मल्ललगायत कलाकारहरूले उत्कृष्ट डेउडा प्रस्तुति दिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि डा. आनन्दबहादुर चन्दले यस्ता कार्यक्रमले सुदूरपश्चिमको मौलिक संस्कृति, कला र परम्पराको संरक्षण तथा प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने बताए । उनले नयाँ पुस्तालाई आफ्नो संस्कृति र परम्परासँग जोड्न यस्ता गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

सुदूरपश्चिम कलाकार समाजले पनि आफ्नो मौलिक संस्कृति संरक्षण र पुस्तान्तरणका लागि आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने संस्थाका अध्यक्ष सुरेश बोहराले बताए । यो पर्व विषेश कार्यक्रम छोटो तयारीमा उत्कृष्ट रुपले मनाउन सफल भएको समाजमा उपाध्यक्ष जोशीको भनाई छ । हराउदैँ गएको मौलिक पर्वहरुलाई समाजले जर्गेना गर्दै आएको उनले बताए ।