बैतडी — बैतडीको दोगडाकेदार गाउँपालिका–३, खोचलेकस्थित श्रीकोट बहुमुखी क्याम्पसले तीजको अवसरमा अन्तर माध्यमिक विद्यालयस्तरीय प्रतिस्पर्धात्मक सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ।
क्याम्पस प्रमुख दानसिंह कार्कीका अनुसार ‘तीज विशेष अन्तर माध्यमिक विद्यालयस्तरीय प्रतिस्पर्धात्मक सांस्कृतिक कार्यक्रम–२०८३’ आगामी भदौ २७ र २८ गते क्याम्पसको प्राङ्गणमा आयोजना हुनेछ।
प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूले तीजसँग सम्बन्धित गीत, नृत्य तथा सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्नेछन्। विद्यार्थीभित्र रहेको प्रतिभा प्रस्फुटन गराउनुका साथै मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको क्याम्पसले जनाएको छ।
प्रतियोगितामा प्रथम हुने समूहले २० हजार रुपैयाँ, द्वितीयले १५ हजार, तृतीयले १० हजार र सान्त्वना हुने समूहले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
क्याम्पसले अध्ययन–अध्यापनसँगै अतिरिक्त तथा सिर्जनात्मक गतिविधिलाई समेत प्राथमिकता दिँदै आएको जनाएको छ। नृत्य, नाटक, चित्रकला तथा संगीतलगायतका गतिविधिमार्फत विद्यार्थीको सिर्जनशीलता विकासमा जोड दिइँदै आएको क्याम्पसको भनाइ छ।
तीज विशेष सांस्कृतिक प्रतियोगिताले विद्यालय तहमा रहेका विद्यार्थीको प्रतिभा पहिचान गर्नुका साथै स्थानीय कला, संस्कृति र परम्पराको संरक्षणमा समेत योगदान पुग्ने आयोजकको अपेक्षा छ।
कार्यक्रममा सहभागी हुन इच्छुक विद्यालय तथा विद्यार्थीलाई आयोजकले सम्पर्क गरी सहभागिता जनाउन आग्रह गरेको छ।
आयोजक: श्रीकोट बहुमुखी क्याम्पस, खोचलेक, बैतडी