बैतडी — बैतडीको सुर्नया गाउँपालिकामा आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरिएका स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा तथा आगामी योजना तर्जुमा कार्यक्रम सम्पन्न भएको छ।
सुर्नया गाउँपालिकाको आयोजनामा असोज १ गते गाउँपालिकाको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा गत आर्थिक वर्षमा सञ्चालन भएका स्वास्थ्य कार्यक्रमको प्रगति, उपलब्धि, समस्या तथा चुनौतीबारे समीक्षा गर्दै आगामी कार्ययोजनाका विषयमा छलफल गरिएको स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले जानकारी दिनुभयो।
कार्यक्रममा गाउँपालिका प्रवक्ता तथा वडा नम्बर ४ का अध्यक्ष प्रताप महरा, वडा नम्बर ३ का अध्यक्ष शम्भुप्रसाद भट्ट, जिल्ला स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत खगेन्द्र कार्की, संयुक्त राज्य अमेरिका तथा EpiC/NNSWA का सामाजिक परिचालक जनकराज भट्ट, जनप्रतिनिधि, स्वास्थ्य शाखाका कर्मचारी, मातहतका स्वास्थ्य संस्थाका प्रतिनिधि तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो।
स्वास्थ्य कार्यक्रमलाई थप प्रभावकारी बनाउने, कार्यान्वयनका क्रममा देखिएका समस्या तथा चुनौती पहिचान गर्ने र आगामी दिनका लागि आवश्यक कार्ययोजना निर्माण गर्ने उद्देश्यले समीक्षा कार्यक्रम आयोजना गरिएको स्वास्थ्य शाखा प्रमुख महराले बताउनुभयो।
कार्यक्रम सुर्नया गाउँपालिका, रौलेश्वर, बैतडीको आयोजनामा तथा United States of America र EpiC/NNSWA को सहकार्यमा सम्पन्न भएको हो।
समीक्षाका क्रममा भौनेली स्वास्थ्य चौकीका प्रमुख सुरेन्द्रसिंह महराले सुर्नयाको स्वास्थ्य क्षेत्रमा अझै विभिन्न अभाव र समस्या रहेको बताउनुभयो। स्टेचरको अभाव हुनुका साथै स्वास्थ्य संस्थामा आवश्यक जनशक्तिको समेत कमी रहेको बताउँदै अन्य पूर्वाधार तथा सेवा व्यवस्थापनका समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रमका सभाध्यक्ष प्रताप महराले सुर्नयाको स्वास्थ्य क्षेत्रमा स्वास्थ्यकर्मीहरूले पुर्याएको योगदानको प्रशंसा गर्दै स्वास्थ्य शाखा प्रमुख तथा स्वास्थ्यकर्मीलाई धन्यवाद दिनुभयो। उहाँले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या कार्यपालिकामा राखेर आवश्यक समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।