ललितपुर ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्यमी महिलाहरुलाई आफ्नै सीप, श्रम र मेहेनतको सदुपयोग गर्दै आत्मनिर्भर बन्न आग्रह गरेका छन् ।
बुधबार ललितपुरको इमाडोलस्थित नवनारी मिडिया एण्ड रिसर्च सेन्टर प्रा.लि.ले आयोजना गरेको ‘नवनारी तीज तथा सम्मान–२०८२’ कार्यक्रमको सम्बोधन गर्दै उनले नेपाली समाजले रोजेको परम्परा र संस्कृतिअनुसार तीज पर्व मनाउन सबैलाई अपिल गरे ।
उनले धेरैजसो उद्यमी महिलाहरुले आफ्ना सीप, क्षमता र अनुभवलाई प्रयोग गरी आत्मनिर्भर बनेको देख्दा गर्व महसुस हुने गरेको बताए । मन्त्री भण्डारीले महिलाले आर्जन गरेको सीप, क्षमता, योग्यता र विवेकले उत्पादन गरिएको सामग्रीको प्रयोग गर्दा प्राप्त हुने सन्तुष्टि आयातित पहिरनजन्य विदेशी सामग्रीले दिन नसक्नेमा जोड दिए ।
उनले महिला सशक्तीकरणबिना न्यायपूर्ण र समृद्ध नेपाल निर्माण असम्भव हुने उल्लेख गर्दै महिला उद्यमशीलतालाई प्रवद्र्धन गर्न सरकारले विशेष प्राथमिकता दिएको बताए ।
“समाज र राष्ट्रको विकासमा महिलाको योगदान अपरिहार्य छ । शिक्षा, स्वास्थ्य, रोजगारी र उद्यमशीलतामा महिलालाई समान अवसर उपलब्ध गराउन सकेमा मात्र समावेशी र समृद्ध समाज सम्भव हुन्छ,” मन्त्री भण्डारीले भने ।
मन्त्री भण्डारीले लघु, घरेलु तथा साना उद्योगमा महिलाको सहभागिता उल्लेखनीय रहेको भन्दै महिला उद्यमशीलता विकास कोषमार्फत सहुलियतपूर्ण ऋण, एकल विन्दु सेवा केन्द्र र ‘नेपालमै उत्पादन, नेपालमै खपत’ अभियानलाई प्रभावकारी बनाउन सरकारले विशेष ध्यान दिएको बताए ।
कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पु¥याउँदै आएका १३ जना महिलालाई सम्मान गरिएको छ । मन्त्री भण्डारीले सम्मानित महिलाहरुको संघर्ष, समर्पण र सफलतालाई समाजका अन्य महिलाका लागि प्रेरणाको स्रोत भएको भन्दै शुभकामना व्यक्त गरे ।