काठमाडौँ । मुलुकको स्थायी सरकारका रूपमा रहेका निजामती सेवाका कर्मचारीले भोलि आइतबार देशभर विभिन्न कार्यक्रमको आयोजना गरी ‘निजामती सेवा दिवस’ मनाउँदै छन् ।
निजामती सेवासम्बन्धी ऐन पहिलोपटक जारी भएको विसं २०१२ भदौ २२ गतेको स्मरण गर्दै हरेक वर्ष यस दिन निजामती सेवा दिवस मनाइने गरिएको छ । निजामती सेवाको मूल्य–मान्यता,आदर्श, चरित्र, नैतिकता, सदाचारिता, निष्ठाजस्ता गुणको स्मरण र पालना गरी नागरिकको सेवामा प्रतिबद्धता व्यक्त गर्ने दिनका रूपमा यस दिवसलाई लिने गरिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव प्रकाश दाहाल बताउँछन् ।
‘सबै नीतिको माउ नीति राजनीति’ हाँक्ने जिम्मेवारीमा रहेको राजनीतिक नेतृत्वलाई नीति निर्माणमा परामर्श दिने, बनेका नीति–नियमलाई कार्यान्वयन गरी नागरिकलाई सरल र सहज रूपमा सेवासुविधा उपलब्ध गराउने निजामती कर्मचारीको प्रमुख जिम्मेवारी हो ।
निजामती सेवामा रहेका करिब ८५ हजार कर्मचारीका लागि यो दिवस ठूलो उत्सव र कदर गर्ने दिनका रूपमा लिने गरिएको छ । सेवा दिवस मनाउन मुख्यसचिवको अध्यक्षतामा गठित मूल समारोह मातहतका उपसमितिबाट स्वास्थ्य शिविर, वृक्षरोपण, रक्तदान, मैत्रीपूर्ण फुटबल, अन्तक्र्रिया, झाँकी प्रदर्शनी, र्याली, दीपावलीजस्ता कार्यक्रम तय गरिएको छ ।