काठमाडौँ ।
जेनजी आन्दोलनका कारण केपी शर्मा ओली नेतृत्वको सरकार अपदस्त भएपछि सुशिला कार्कीको नेतृत्वमा गठन भएको अन्तरिम सरकारको आज (सोमबार) पहिलो मन्त्रिपरिषद् बैठक बसेको थियो ।
भदौ २३ र २४ गते भएको आन्दोलन पछि गठन भएको कार्की नेतृत्वको अन्तरिम सरकारमा रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्यालले विभिन्न मन्त्रालय समाल्ने जिम्मेवारी पाएका छन् । तीनै जना मन्त्रीको शपथ र पदभार ग्रहण पनि आज नै भएको थियो ।
कार्की नेतृत्वको सरकारले मन्त्रीमण्डल गठन गरिसकेपछि आजै आफ्नो पहिलो मन्त्रिपरिषद् बैठक बसालेको थियो । जून मन्त्रिपरिषद् बैठकमा विभिन्न निर्णयहरु गरिएका छन् ।
जस्मा सरकारले सबै भन्दा पहिला (पर्सि) १ असोजमा शोक दिवस मनाउने निर्णय गरेको छ, भने त्यसै दिन सार्वजनिक बिदा दिने र ज्यान गुमाएका व्यक्तिहरूलाई राष्ट्रिय झण्डा ओड्याउने निर्णय समेत गरेको छ ।
गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालका अनुसार जेनजी आन्दोलनका क्रममा शाहदत प्राप्त गरेका व्यक्तिहरूलाई शहीद घोषणा गरिएको छ । ज्यान गुमाएका व्यक्तिहरूलाई राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय समेत भएको अर्यालले जानकारी दिए ।
जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीद परिवारलाई क्षतिपूर्ति वापत १५ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।
आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिका परिवारलाई क्षतिपूर्तिबापत १० लाख र अन्य खर्च ५ लाख गरी कुल १५ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने निर्णय भएको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । क्षतिपूर्ति वापतको उक्त रकम अर्थ मन्त्रालय मार्फत गृह वा सम्बन्धित जिल्ला प्रशासनबाट वितरण गरिने उनको भनाइ छ ।
गृहमन्त्री अर्यालका अनुसार आन्दोलनका क्रममा घाइते भएकाहरूको निःशुल्क उपचारको व्यवस्था सरकारले गर्नेछ ।आन्दोलका क्रममा ज्यान गुमाएका व्यक्तिहरूका शवलाई सम्बन्धित जिल्ला र पालिकासम्म पुर्याउन सरकारले सहजीकरण गर्ने निर्णय गरेको उनले बताए ।
त्यसका लागि हेलिकप्टरसहितका साधन उपलब्ध गराइने भएको छ । साथै दाहासंस्कारमा समेत सरकारले सघाउने उनले बताए ।
सरकारले अघिल्लो मन्त्रिपरिषद् बैठकमा निर्णयका लागि पेश भएका सबै प्रस्तावहरू फिर्ता गरेको छ ।
जेनजी प्रदर्शनको बलमा प्रधानमन्त्री नियुक्त भएकी सुशीला कार्की नेतृत्वको सरकारले अघिल्लो सरकारले निर्णयका लागि पेश गरेका सबै प्रस्तावहरू सम्बन्धित मन्त्रालयमै फिर्ता पठाउने निर्णय गरेको हो । गत २३ र २४ भदौमा भएको जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए ।
उनले राजीनामा दिएपछि नेपाली सेनासमेतको सहयोगमा राष्ट्रपति रामचन्द्र पौडेलले कार्की नेतृत्वमा अन्तरिम सरकार गठन गरेका थिए ।
२३ र १४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा देशभरि ७२ जनाले ज्यान गुमाएका छन् भने २ हजार ३१६ जना घाइते भएका छन् । देशका विभिन्न अस्पतालमा २८३ जना घाइतेहरू उपचाररत छन् ।