काठमाडौँ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगले काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहबालेन लाई बयानका लागि बोलाएको छ।
आयोगले यसअघि तत्कालीन गृहमन्त्री रमेश लेखक, जेनजी प्रतिनिधि सुदन गुरुङ, पुरुषोत्तम यादव लगायतको बयान लिइसकेको छ। मेयर शाह मात्रै बाँकी रहेकाले उनलाई बयानमा बोलाइएको हो।
उनको बयानका लागि आयोगले औपचारिक बोलावट पठाएको बालेनका स्वकीय सचिव भुपदेव शाहले जानकारी दिएका छन्।
भदौ २३ र २४ को आन्दोलनका बेला मेयर शाहले अप्रत्यक्ष रूपमा सहयोग गरेका थिए। भदौ २३ को आन्दोलनमा काठमाडौँ महानगरले पानी वितरणको व्यवस्था गरेको थियो।
त्यसैगरी, भदौ २४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिइसकेको जानकारी सार्वजनिक भएपछि उनले फेसबुकमार्फत जेनजीलाई आन्दोलनबाट फर्किन आह्वान गरेका थिए।
साथै, नयाँ सरकार गठनको सन्दर्भमा उनले जेनजीहरुलाई सेनासँग वार्ता गर्न र प्रतिनिधि सभा विघटनको सर्त राख्न आग्रह गरेका थिए। वर्तमान प्रधानमन्त्री सुशीला कार्कीलाई प्रधानमन्त्री सिफारिस गर्नमा पनि उनकै हात रहेको बताइन्छ ।
जेनजी आन्दोलनका घटनाबारे छानबिन तीव्र बन्दै जाँदा तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि अनुसन्धानको केन्द्रमा परेका छन्।
एकातर्फ, जाँचबुझ आयोगले ओलीलाई औपचारिक बयानका लागि पत्र पठाइसकेको छ। अर्कोतर्फ, राष्ट्रिय मानवअधिकार आयोगले समेत ओलीसँग प्रत्यक्ष बयान लिइसकेको छ।
सुरुमा आयोगले तीन महिनाको समय पाएको थियो। तर काम पूरा नहुँदा एक महिना थप समय दिएको छ। आयोगमा नेपाल प्रहरीका पूर्व एआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य रहेका छन्।
मानवअधिकार आयोगले पनि भदौ २३ र २४ का घटनाबारे विस्तृत अध्ययन गर्दै आएको छ।
आन्दोलनका क्रममा राज्य पक्षको कदम, सुरक्षा व्यवस्थापन र त्यसले पारेको प्रभावको विश्लेषण भइरहेको छ।