काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जाँचबुझ आयोगलाई दिएको लिखित बयानका मुख्य ६ बुँदा सार्वजनिक गरिएका छन् ।
एमालेका सचिव महेश बस्नेतले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत ती बुँदा सार्वजनिक गरेका हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुक मार्फत आन्दोलनका क्रममा सरकार र सुरक्षा निकायले लिएको भूमिकाबारे ओलीको स्पष्ट धारणा प्रस्तुत गरेका हुन्।
ओलीका अनुसार २२ भदौको बेलुका बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा आन्दोलन शान्तिपूर्ण हुने, बल प्रयोग नगर्ने र युवा–विद्यार्थीलाई सहयोग गर्ने विषयमा छलफल भएको थियो।
उनले आन्दोलनमा घुसपैठ र अराजक समूह प्रवेश भएको कुरा आन्दोलनमा संलग्न युवाहरूले नै स्वीकार गरिसकेको दाबी गरेका छन्। साथै आन्दोलनमा सहभागी अधिकांश व्यक्ति ‘जेन–जी’ नभएको कुरा तत्कालीन फोटो र भिडियोहरूले स्पष्ट देखाउने उल्लेख गरेका छन्।
२३ भदौमा तोडफोड र एक्कासि गोली प्रहार सुरु भएपछि गृहमन्त्रीसहित सबै सुरक्षा प्रमुखसँग छलफल गरी छानबिन समिति गठन गर्ने निर्णय गरिएको ओलीको भनाइ छ। २४ भदौको अवस्था नियन्त्रणमा लिन नेपाली सेना परिचालन गर्न चाहिएको भए पनि त्यो सम्भव हुन नसकेको पनि उनले बयानमा उल्लेख गरेका छन्।
त्यस्तै, गौरीबहादुर कार्कीले घटनाकै दिन तथा त्यसअघि–पछि सामाजिक सञ्जालमा धारणा सार्वजनिक गरिसकेको भन्दै निष्पक्ष प्रतिवेदन आउनेमा आशंका ओलीले आयोगलाई दिएको लिखित बयानमा व्यक्त गरेका छन्। ७६ जनाको ज्यान जाने गरी भएको जेनजी आन्दोलनका बेला केपी ओली प्रधानमन्त्री थिए।
त्यस क्रममा भएका घटना छानबिनका लागि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा जाँचबुझ आयोग गठन गरेको हो।
बयान लिन गत आइतबार आफ्नै निवास भक्तपुरस्थित गुण्डुमा आएको आयोगको टोलीलाई तत्कालीन प्रधानमन्त्री ओलीले लिखित बयान दिएका थिए ।