बैतडी ।
बैतडीको सुर्नया गाउँपालिका–२ का विनोद विष्टलाई धेरैले समाजसेवीका रूपमा चिन्छन् । रोजगारीको सिलसिलामा भारतमा बस्दै आएका उनले वर्षौंदेखि समस्यामा परेका नेपालीहरूको सहयोग गर्दै आफ्नो छुट्टै परिचय बनाएका छन् । बिरामी परेका व्यक्तिका लागि आर्थिक सहयोग जुटाउनेदेखि विदेशमा अलपत्र परेकालाई बस्न र खानको व्यवस्था मिलाउने काममा उनी सधैं अग्रसर देखिन्छन् ।
विगत एक दशकदेखि समाजसेवामा सक्रिय विष्टले सामाजिक सेवासँगै संस्कृति संरक्षणमा पनि योगदान पुर्याएका छन् । भारतका विभिन्न शहर र गृहजिल्ला बैतडीमा मेला–महोत्सव आयोजना गरी उनले सुदूरपश्चिमको कला र संस्कृतिलाई प्रवर्द्धन गर्ने प्रयास गरेका छन् । विभिन्न सामाजिक संघसंस्थालाई सहयोग गर्दै आएका उनी युवापुस्तामाझ लोकप्रिय व्यक्तित्वका रूपमा चिनिन्छन् ।
समाजसेवाबाट जनताको विश्वास जितेका विष्ट पछिल्ला दुई वर्षयता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा सक्रिय छन् । प्रवासमा पार्टी संगठन विस्तार गर्ने अभियानमा महत्वपूर्ण भूमिका खेलेका उनले एक कार्यक्रममा एकैपटक ७० भन्दा बढी व्यक्तिलाई रास्वपामा प्रवेश गराएर चर्चा कमाएका थिए ।
अब उनी रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनमार्फत केन्द्रीय सदस्य बन्ने दौडमा छन् । सुदूरपश्चिम प्रदेशको भूगोलतर्फबाट उम्मेदवारी दिएका विष्ट युवाको नेतृत्व सुनिश्चित गर्नुपर्ने बताउँछन् । सुदूरपश्चिमका मुद्दा र आवाजलाई केन्द्रीय तहसम्म पुर्याउने आफ्नो उद्देश्य रहेको उनको भनाइ छ।
"युवालाई अवसर र जिम्मेवारी दुवै दिनुपर्छ । पार्टीभित्र नयाँ पुस्ताको प्रतिनिधित्व बलियो बनाउनुपर्छ" विष्टको धारणा छ ।
बैतडीबाट उठेको एउटा युवा, जसले समाजसेवा र संगठन निर्माणमार्फत आफ्नो पहिचान बनायो, अहिले राष्ट्रिय राजनीतिको केन्द्रमा पुग्ने प्रयासमा छ । त्यसैले रास्वपाको महाधिवेशनमा विनोद विष्टको उम्मेदवारीलाई सुदूरपश्चिमका कार्यकर्ता र युवाहरूले चासोका साथ हेरिरहेका छन् ।