काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि सम्पन्न मतदानको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ। पहिलो चरणमा विद्युतीय (इलेक्ट्रोनिक) प्रणालीमार्फत भएको मतदानको गणनामा पार्टीका नेता स्वर्णिम वाग्ले र सोविता गौतमले सर्वाधिक मत प्राप्त गर्दै शीर्ष स्थानमा रहेका छन्।
सार्वजनिक मतपरिणामअनुसार स्वर्णिम वाग्लेले २ हजार ६०७ मत प्राप्त गर्दै सबैभन्दा बढी मत ल्याएका छन्। महिलातर्फ सोविता गौतमले २ हजार ५९४ मत प्राप्त गर्दै अग्रस्थान हासिल गरेकी छन्। दुवै नेताले प्राप्त गरेको मतलाई पार्टीभित्रको लोकप्रियता र आगामी नेतृत्व संरचनाप्रतिको विश्वासका रूपमा समेत हेरिएको छ।
केन्द्रीय निर्वाचन आयोगका अनुसार अन्य उम्मेदवारमध्ये मनिष झाले २ हजार २३७ मत, विपीन आचार्यले २ हजार १२६ मत तथा गणेश पराजुलीले २ हजार ४५ मत प्राप्त गरेका छन्। मतगणनाको प्रारम्भिक चरण सकिए पनि विदेशमा रहेका पार्टी सदस्यहरूले गरेको मतदानको मत अझै समावेश हुन बाँकी रहेको आयोगले जनाएको छ।
निर्वाचन आयोगका पदाधिकारीका अनुसार प्रवासबाट प्राप्त मतलाई अन्तिम मतपरिणाममा समावेश गरेपछि केन्द्रीय सदस्यमा निर्वाचित हुने ९९ जनाको आधिकारिक सूची सार्वजनिक गरिनेछ। त्यसअघि सार्वजनिक गरिएको मतपरिणामलाई प्रारम्भिक नतिजाका रूपमा लिन आग्रह गरिएको छ।
रास्वपाले पहिलो पटक आयोजना गरेको राष्ट्रिय महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढाइरहेको छ। पार्टीको भावी संगठनात्मक संरचना निर्माण तथा आगामी राजनीतिक रणनीति तय गर्ने दृष्टिले महाधिवेशनलाई विशेष महत्त्वका साथ हेरिएको छ। केन्द्रीय सदस्य चयनका लागि देश तथा विदेशबाट उल्लेख्य सहभागिता रहेको पार्टीले जनाएको छ।
प्रवासी सदस्यहरूको मत गणना सम्पन्न भएपछि अन्तिम परिणाम घोषणा गरिने निर्वाचन आयोगले जनाएको छ। त्यसपछि निर्वाचित केन्द्रीय सदस्यहरूको औपचारिक घोषणा गर्दै पार्टीको नयाँ केन्द्रीय संरचनाले पूर्णता पाउने अपेक्षा गरिएको छ।