
काठमाडौं । गुठी सम्बन्धी कानुन, व्यवस्था तथा साविक लगतसम्बन्धी जानकारी प्रदान गर्ने उद्देश्यले आयोजित एकदिने प्रशिक्षण कार्यक्रम शुक्रबार पाटन उच्च अदालत बार एशोसिएसनको सभाहलमा आयोजना भएको छ ।
देवानी कानुन सरोकार समाज नेपाल र पाटन उच्च अदालत बार एशोसिएसनको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा पाटन उच्च अदालतका मुख्य न्यायाधीश माननीय लालबहादुर कुँवर प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । कार्यक्रमको सञ्चालन अधिवक्ता सुलोचना मानन्धरले गर्नुभएको थियो ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता तथा पाटन बारका अध्यक्ष विदुरप्रसाद ढुंगानाले पाटन उच्च अदालत बारले विगतदेखि नै देवानी तथा फौजदारी कानुनसम्बन्धी ज्ञानमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको उल्लेख गर्दै गुठी कानुन, गुठी प्रशासन तथा छुट दर्तासम्बन्धी प्राविधिक र प्रशासनिक ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले यस प्रशिक्षणको आयोजना गरिएको बताउनु भयो । उहाँले यसबाट कानुन व्यवसायीहरूलाई आफ्नो पेशागत कार्यसम्पादनमा थप सहजता हुने विश्वास व्यक्त गर्नुभयो ।
वरिष्ठ अधिवक्ता ढुंगानाले पाटन उच्च अदालत बार एशोसिएसनको नयाँ कार्यसमितिको निर्वाचन आगामी साउन महिनामा हुने जानकारी दिँदै सदस्यहरूलाई समयमै सदस्यता नवीकरण गर्न पनि आग्रह गर्नुभयो ।
प्रशिक्षण सत्रमा वरिष्ठ अधिवक्ता जगतबहादुर कार्कीले गुठी कानुन र जग्गा प्रशासनसँग सम्बन्धित विभिन्न विषयमा विस्तृत प्रशिक्षण दिइरहनु भएको छ । उहाँले जग्गाको साविक लगत, श्रेस्ता, रेकर्ड, मोठ, भोगचलन, मौजाको लगत विवरण, मौजा तथा जिम्मावाल र मोहीबीचको सम्बन्ध, जग्गा नापजाँच ऐन, २०१९ लागू हुनुअघिको दर्ता प्रक्रिया, कोटेश्वर मौजाभित्रका दर्तावाला मोही, चारकिल्ला खुलेको साविक लगत, मोठ श्रेस्ता राख्ने प्रक्रिया तथा बिर्ता लगतलगायतका विषयमा सहभागीहरूलाई जानकारी गराउनु भएको थियो ।
आयोजकका अनुसार प्रशिक्षण कार्यक्रमले गुठी प्रशासन, जग्गा अभिलेख तथा देवानी कानुनसँग सम्बन्धित व्यावहारिक र कानुनी पक्षबारे कानुन व्यवसायीहरूको ज्ञान तथा क्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुरयाउने अपेक्षा गरिएको छ ।