
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमती प्रदेश कमिटीले ‘पार्टी जागरण अभियान’ को शुभारम्भ विशेष कार्यक्रम आयोजना गर्ने भएको छ।
पार्टीले सार्वजनिक गरेको सूचनाअनुसार कार्यक्रम २०८३ असार २० गते शनिबार बिहान ११:०० बजे एमाले केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा आयोजना हुनेछ।
कार्यक्रममा नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। त्यसैगरी, पार्टीका महासचिव शंकर पोखरेल, सचिव तथा बागमती प्रदेश इन्चार्ज भानुभक्त ढकाल, र सचिव महेश बस्नेत विशेष अतिथिका रूपमा उपस्थित रहने कार्यक्रम छ।
बागमती प्रदेश कमिटीले कार्यक्रमका लागि प्रदेश कमिटीका पदाधिकारी तथा सदस्य, प्रदेश सल्लाहकार परिषद्का पदाधिकारी तथा सदस्य, सम्पूर्ण जिल्ला कमिटीका पदाधिकारी, प्रदेशअन्तर्गतका जनसंगठनका केन्द्रीय प्रतिनिधि, बागमती प्रदेशका सम्पर्क समन्वय कमिटीका पदाधिकारी, सम्पर्क संगठनका पदाधिकारी, प्रदेश विभागका सचिव, प्रदेश जनवर्गीय संगठनका पदाधिकारी तथा सम्पूर्ण पालिका कमिटीका अध्यक्षहरूलाई अनिवार्य उपस्थितिका लागि आह्वान गरेको छ।
साथै, बागमती प्रदेशअन्तर्गतका पालिकामा रहेका पार्टीका केन्द्रीय प्रतिनिधिहरू पनि कार्यक्रममा सहभागी रहने जनाइएको छ।
एमालेले ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल, सुखी नेपाली राष्ट्रिय जनतन्त्र’ भन्ने मूल नारासहित अभियान सञ्चालन गर्न लागेको जनाएको छ। पार्टीका अनुसार अभियानको उद्देश्य संगठन सुदृढीकरण, कार्यकर्ता परिचालन तथा पार्टीलाई जनस्तरसम्म थप प्रभावकारी रूपमा विस्तार गर्नु रहेको छ।