
काठमाडौं। नागढुंगा–मुग्लिङ सडक विस्तार आयोजनाअन्तर्गत पूर्वी खण्डको नौबिसे–मलेखु सडक निर्माणले पुनः गति लिएको छ। बिटुमिन आपूर्ति सहज भएसँगै निर्माण कार्य तीव्र बनाइएको हो। हालसम्म कुल ४३ किलोमिटर सडकमध्ये २५ किलोमिटर कालोपत्रे र २ किलोमिटर ढलान सम्पन्न भइसकेको आयोजनाले जनाएको छ।
नागढुंगा–मुग्लिङ सडक योजना (पूर्वी खण्ड) को समग्र भौतिक प्रगति ६० प्रतिशत पुगेको छ। चालु आर्थिक वर्षमा ७५ प्रतिशत भौतिक प्रगति हासिल गर्ने लक्ष्य राखिए पनि अन्तर्राष्ट्रिय बजारमा बिटुमिन अभावका कारण केही समय निर्माण प्रभावित भएको हो।
मध्यपूर्वमा उत्पन्न तनावका कारण बिटुमिन आयातमा समस्या देखिएको थियो। पूर्वाधार विकास मन्त्रालयको सहजीकरणपछि अहिले आपूर्ति सहज बनेसँगै सडक निर्माणले पुनः गति समातेको हो।
पहिलो प्याकेजअन्तर्गत पर्ने नागढुंगा–नौबिसे सडक खण्डको भौतिक प्रगति ८८ प्रतिशत पुगेको छ। दोस्रो प्याकेजअन्तर्गतको नौबिसे–मलेखु खण्डमा २५ किलोमिटर सडक कालोपत्रे गरिएको छ। यसमध्ये २.५ किलोमिटर दुई लेनमा र बाँकी २२.५ किलोमिटर सडक पूर्ण चौडाइमा कालोपत्रे सम्पन्न भएको छ।
मौसम अनुकूल रहे वर्षा अघि नै थप सडक कालोपत्रे सम्पन्न गर्ने लक्ष्य रहेको बताए। "हालसम्म २५ किलोमिटर कालोपत्रे र २ किलोमिटर ढलान सम्पन्न भइसकेको छ। मौसमले साथ दिए वर्षाअघि बाँकी कामलाई पनि तीव्र रूपमा अघि बढाउनेछ ।
बिटुमिनको नियमित आपूर्तिपछि नौबिसे–मलेखु खण्डमा मात्र थप ३.३ किलोमिटर सडक कालोपत्रे गरिएको छ। मौसमले साथ दिए आगामी केही दिनभित्र थप ६ किलोमिटर सडक कालोपत्रे गर्ने तयारी भइरहेको छ।
निर्माण टोलीले दैनिक ४०० देखि ५०० मिटरसम्म सडक कालोपत्रे गर्ने क्षमता राखे पनि वर्षायामका कारण काम प्रभावित भइरहेको छ। "मौसम अनुकूल रहे निर्माण कार्य नरोकी अघि बढाउने तयारी भइरहेको छ।
आयोजनाले प्रतिकूल मौसम र प्राविधिक चुनौतीका बाबजुद चालु आर्थिक वर्षको अन्त्यसम्म ६५ प्रतिशत भौतिक प्रगति हासिल गर्ने संशोधित लक्ष्य निर्धारण गरेको छ। साथै, वर्षात् सुरु हुनुअघि नै पुराना पिच उप्काइएका सडक खण्ड पुनः कालोपत्रे गरी सवारी आवागमनलाई सहज बनाउने कार्यलाई प्राथमिकतामा राखिएको जनाएको छ।