
काठमाडौं, । मौसमविद्हरूले भोलिदेखि आइतबारसम्म पश्चिम नेपालका केही क्षेत्रमा भारी वर्षा हुन सक्ने चेतावनी दिएका छन्। मौसम पूर्वानुमान मोडेलहरूले पश्चिमी भूभागमा मनसुनी गतिविधि थप सक्रिय हुने संकेत गरेसँगै सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
हाल देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मौसमविद्का अनुसार विभिन्न मौसम पूर्वानुमान मोडेलहरूले पश्चिम नेपालमा भारी वर्षाको संकेत गरेका भए पनि वर्षा हुने स्थान र परिमाणमा भने फरक पर्न सक्ने देखिएको छ। उनका अनुसार कतिपय क्षेत्रमा अनुमानभन्दा बढी वर्षा हुन सक्छ भने केही स्थानमा अपेक्षाकृत कम वर्षा हुन सक्ने भएकाले पूर्वतयारी र सावधानी आवश्यक छ।
सामाजिक सञ्जालमार्फत मौसमविद् पोखरेलले केही स्थानमा मोडेलले देखाएको भन्दा बढी र केही ठाउँमा कम वर्षा हुन सक्ने उल्लेख गर्दै मौसमको अवस्थाप्रति सचेत रहन आग्रह गरेका छन्।
विशेषगरी पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षासँगै पहिरो खस्ने, नदी तथा खोलामा पानीको बहाव बढ्ने र आकस्मिक बाढीको जोखिम रहने भएकाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।
यता, पूर्वी नेपालको तराई क्षेत्रमा भने अपेक्षाकृत कम वर्षा भइरहेको छ। मौसम पूर्वानुमानले वर्षाको सम्भावना देखाए पनि अधिकांश तराई क्षेत्रमा उल्लेखनीय वर्षा हुन नसकेको मौसमविद्हरूको भनाइ छ।
मौसमविद् पोखरेलका अनुसार पहाडी भूभागले बादललाई माथि उठाउन सहयोग गर्ने भएकाले त्यहाँ वर्षा बढी हुने गरेको हो। तर समथर तराई क्षेत्रमा यस्तो प्रक्रिया कमजोर हुने भएकाले बादल विकास भए पनि पर्याप्त वर्षा हुन नसकेको उनले स्पष्ट पारे।