
काठमाडौं, । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले बिहीबार गरेको आत्मदाह प्रयासको घटनापछि काठमाडौं महानगरपालिका महानगर प्रहरी बलले आफूहरूले नियमित कानुनी प्रक्रिया मात्र अपनाएको स्पष्ट पारेको छ। महानगर प्रहरीका अनुसार उक्त घटनालाई ह्वील लक कारबाहीसँग प्रत्यक्ष रूपमा जोडेर हेर्न नहुने जनाएको छ।
घटनाअघि नेपालीले सडक किनारमा पार्किङ निषेध गरिएको स्थानमा मोटरसाइकल रोकेर राखेका थिए। त्यसपछि काठमाडौं महानगरपालिका महानगर प्रहरी बल र ट्राफिक प्रहरीको संयुक्त टोलीले मोटरसाइकलमा ह्वील लक लगाएको थियो। त्यसलगत्तै आत्मदाह प्रयास भएको भन्दै सामाजिक सञ्जालमा विभिन्न टिप्पणी भइरहेका बेला महानगर प्रहरीले आफ्नो धारणा सार्वजनिक गरेको हो।
महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीले मोटरसाइकलमा बिहान करिब ११ः३० बजे ह्वील लक लगाइएको जानकारी दिँदै पार्किङ निषेधित स्थानमा राखिएका सवारीसाधनमा ह्वील लक लगाउने कार्य नियमित प्रक्रिया भएको बताए। उनका अनुसार चालकलाई खोजी गर्दा कोही सम्पर्कमा नआएपछि सार्वजनिक आवागमन सहज बनाउन यस्तो कारबाही गरिन्छ।
उनले ह्वील लक लगाएपछि पनि मोटरसाइकल करिब दुई घण्टासम्म सोही स्थानमा रहेको र त्यसपछि मात्र सम्बन्धित व्यक्ति घटनास्थलमा फर्किएको बताए। उनका अनुसार सवारीधनी सम्पर्कमा नआएपछि ट्राफिक प्रहरी र महानगर प्रहरीको संयुक्त टोलीले सवारीलाई बग्गीखानामा लैजाने तयारी गरिरहेको बेला आत्मदाह प्रयास भएको थियो।
जोशीले महानगर प्रहरीले चिट काट्ने अधिकार नभएको स्पष्ट पार्दै जरिवाना वा चिट काट्ने जिम्मेवारी ट्राफिक प्रहरीको रहेको बताए। उनका अनुसार महानगर प्रहरीको भूमिका अवैध पार्किङमा राखिएका सवारीसाधनलाई व्यवस्थापन गर्ने मात्र हो।
उनले ह्वील लक लगाएपछि गणेश नेपाली करिब दुई घण्टासम्म कहाँ थिए र त्यस अवधिमा के गरे भन्नेबारे आफूहरूलाई जानकारी नभएको बताए। “महानगर प्रहरी कुनै व्यक्तिको व्यक्तिगत गतिविधि पछ्याउने निकाय होइन,” उनले भने, “घटना अत्यन्त दुःखद् हो र हामी पनि यसबाट मर्माहत छौं। तर नियमित कानुनी जिम्मेवारी निर्वाह गरेको कारण मात्र हामीलाई घटनाको कारकका रूपमा चित्रित गर्नु उचित हुँदैन।”
महानगर प्रहरीका अनुसार सडक व्यवस्थापनका क्रममा दैनिक सयौँ सवारीसाधनमा ह्वील लक लगाइने गरिन्छ। यदि यस्तो कारबाही रोक्ने हो भने राजधानीको ट्राफिक व्यवस्थापन थप अस्तव्यस्त हुने उनीहरूको भनाइ छ।
यसैबीच, आत्मदाह प्रयासमा गम्भीर घाइते भएका गणेश नेपालीको अस्पतालमा उपचार भइरहेको छ। घटनाको कारण र परिस्थितिबारे नेपाल प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।