काठमाडौँ ।
बाराकी तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका नाबालिगको भिडिओ खिचेको आरोपमा चार जना प्रहरीमाथि विभागीय कारबाही सुरु भएको छ ।
बारा प्रहरीले नाबालिगको भिडिओ खिचेको आरोप लागेका प्रहरी हवल्दार कुमार विकलाई पक्राउ गरेको छ । “हिरासतमा रहेका नाबालिगको कानुनविपरीत भिडिओ खिचेको देखिएपछि हवल्दारलाई पक्राउ गरी फौजदारी कसुरमा अनुसन्धान थालेका छौँ,” बारा प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले भने ।
कुँवरका अनुसार उक्त प्रकरणमा चार जना प्रहरी कर्मचारी संलग्न रहेको खुलेको छ। “भिडिओमा देखिएका अन्य तीन जना प्रहरीमाथि अनुसन्धान थालिएको छ, दोषी देखिए पक्राउ गरी फौजदारी अपराधमा कारबाही थाल्छौँ,” कुँवरले भने ।
बालिकाको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका १४ वर्षीय ती किशोरको बयानसहितको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। भिडिओमा हतकडी लगाएका बालकलाई घटनाबारे बयान लिइएको देखिन्छ। उक्त भिडिओ सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालयले अनुसन्धान थालेको हो ।
“कानुनविपरीत भिडिओ खिचेर सार्वजनिक गर्न नपाइनेमा त्यस्तो कार्य प्रहरी कर्मचारीबाट भएको देखियो,” कुँवर भन्छन्। बारा जितपुरसिमरा उपमहानगरपालिका-१ भक्तिनगरकी बालिका गरिमा चौधरीको २ भदौमा शव भेटिएको थियो। ३१ साउनदेखि उनी बेपत्ता थिइन्। शवको मुचुल्का उठाउँदा बलात्कारपछि हत्या भएको खुलेको थियो ।
प्रारम्भिक अनुसन्धानमा बालिकालाई चकलेट दिएर बलात्कार गरी हत्या गरेको ती किशोरले बयान दिएको प्रहरीले जनाएको छ। उनीसँगै प्रहरीले जितपुर सिमरा-१ का २४ वर्षीय प्रोग्रेस चौधरीलाई २ भदौमै पक्राउ गरेको थियो। उनीसँगै अर्का नाबालिग किशोरलाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको छ । यससँगै गरिमा प्रकरणमा पक्राउ पर्नेको संख्या ९ पुगेको छ ।
#NepalNews