काठमाडौं ।
विपद्को कठिन घडीमा बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि नेकपा (एमाले) ले ‘बाढीपीडित उद्धार, राहत तथा पुनःस्थापना सहयोग समिति’ गठन गरेको छ ।
एमाले सचिव महेश बस्नेतको संयोजकत्वमा गठित समितिले रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहत अभियान सञ्चालन गर्ने जनाएको छ । अभियानका लागि पार्टीका विभिन्न जनसंगठन, जनप्रतिनिधि तथा स्वयंसेवकलाई एकीकृत रूपमा परिचालन गरिनेछ ।
समितिले रसुवाको जिम्मेवारी विनोद श्रेष्ठ, नुवाकोटको रूपनारायण श्रेष्ठ तथा धादिङ र चितवनको जिम्मेवारी रमेश आचार्यलाई दिएको छ । यस्तै, संघीय सरकारसँग समन्वयको जिम्मेवारी राजेन भट्टराई, प्रचार संयोजन निरज आचार्य, आर्थिक संयोजन डा. भीष्म अधिकारी र स्वयंसेवक परिचालनको जिम्मेवारी विनोद श्रेष्ठलाई दिइएको छ ।
यसैगरी कार्यालय संयोजन नारायण सिलवाल र राहत संकलन संयोजन कैलाश ढुंगेलले गर्नेछन्। प्रभावित क्षेत्रमा जिफण्ट, युवा संघ, अनेरास्ववियु, युथ भोलेन्टियर्स फोर्स, प्रेस चौतारी नेपाल, जनजाति महासंघ, खेलकुद महासंघ तथा भूतपूर्व सैनिक तथा प्रहरी संगठनलगायतका जनसंगठनलाई परिचालन गरिने एमालेले जनाएको छ ।
एमालेका अनुसार उद्धार तथा राहत टोली भोलि बिहान ११ बजे नुवाकोट र दिउँसो १ बजे रसुवातर्फ प्रस्थान गर्नेछ । बाढीपीडितको उद्धार तथा राहतका लागि पार्टीले १ करोड २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा पनि गरेको छ ।
एमालेले विपद्को समयमा राजनीतिक भाषणभन्दा उद्धार, आश्वासनभन्दा राहत र विभाजनभन्दा मानवीय सहकार्य आवश्यक रहेको जनाएको छ ।