काठमाडौं ।
नेकपा एमालेको निर्वाचन समीक्षा एवं पार्टी पुनर्गठन कार्यदलको बैठक आज बस्दैछ । यसअघिको बैठकमा सहभागी अध्यक्ष केपी शर्मा ओली आज भने त्यो बैठकमा सहभागी नहुने भएका छन् ।
एमाले केन्द्रीय सदस्य तथा ओलीको सचिवालय प्रमुख निरु पालले कार्यदलको बैठकमा अध्यक्ष जाने कार्यक्रम नभएको बताइन् । ‘कार्यदलको बैठक हो, अहिलेसम्म अध्यक्षज्यू जाने कार्यक्रम छैन, जानलाई त कुनै समस्या होइन’ उनले भनिन् ।
आजको बैठकमा कार्यदलका संयोजक रामबहादुर थापा बादलले यसअघि कार्यदलको तर्फबाट सदस्यसचिव रहेका महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदनलाई पुनः सम्पादन गरेर बिहीबार सार्वजनिक सम्पादित प्रतिवेदन कसरी छलफल हुन्छ भन्ने विषय पेचिलो बनेको छ ।
यसअघि कार्यदल बैठकले नै सदस्यसचिवले प्रतिवेदन तयार गरेर आफ्नो बैठकमा छलफल गरेर मात्रै नेतृत्वलाई दिने निर्णय भएको थियो । तर छलफलबिनै अध्यक्ष ओलीले पाएको यो प्रतिवेदनमा संकटको बेला पार्टी नेतृत्वलाई अनावश्यक आरोप लगाउनेगरी आएको भन्दै सच्चाउन बादलले भदौ ४ गते नेतृत्वबाट जिम्मेवारी पाएका थिए ।
सबै प्रदेशबाट प्राप्त सुझावलाई समेटेर यसअघि महासचिव पोखरेलले तयार गरेको प्रतिवेदन ओलीले आफू अनुकूलको प्रतिवेदन नआएपछि पुनः त्यसलाई सच्याउन भन्दै बादललाई नेता प्रदीप ज्ञवालीले सहयोग गर्ने गरी जिम्मा दिएका थिए ।
शंकरले ल्याएको ६५ पेजको प्रतिवेदन सम्पादन गरेर बिहीबार बादलले ३९ पृष्ठको प्रतिवेदन तयार गरेको सार्वजनिक भएको छ । आजको कार्यदल बैठकमा दुवै प्रतिवेदन पेश हुने र त्यसमाथिको छलफल कसरी हुने भन्ने विषय पेचिलो बनेको सदस्यहरू बताउँछन् ।
कार्यदलमा शंकर पक्षका सदस्यहरूले पहिलेकै प्रतिवेदनमाथि छलफल गरेर जानुपर्ने पक्षमा छन् भने बादल पक्षका सदस्यहरूले कार्यदलकै संयोजक भएकाले त्यसैलाई आधार मानेर छलफल हुने जनाएका छन् ।