काठमाडौं ।
कम्पनी रजिष्ट्रारको कार्यालयको अनलाइन प्रणालीले प्रभावकारी रूपमा काम नगर्दा सेवाग्राहीले सास्ती खेप्नुपरेको गुनासो गरेका छन् ।
आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले उपलब्ध गराएको छुट सुविधाको लाभ लिन असोज मसान्तभित्र विवरण पेस गर्नुपर्ने समयसीमा नजिकिँदै गर्दा अनलाइन प्रणालीमा समस्या देखिएपछि सेवाग्राही समस्यामा परेका हुन् ।
सेवाग्राहीका अनुसार पछिल्लो चार–पाँच दिनदेखि कार्यालयको अनलाइन प्रणाली सुस्त चल्ने, आवश्यक कागजात अपलोड नहुने तथा पटक–पटक ‘सर्भिस अनअभाइलेबल’ देखाउने समस्या छ । युजर आईडी र पासवर्ड प्रयोग गरेर प्रणालीमा लगइन गर्न सकिए पनि आवश्यक कागजात अपलोड गर्न कठिनाइ भइरहेको उनीहरूको भनाइ छ ।
‘युजर आईडी लगइन हुन्छ । तर त्यसभित्र डकुमेन्ट अपलोड गर्दा अपलोड हुँदैन । साइट एकदम स्लो छ । बेलाबेलामा सर्भिस अनअभाइलेबल पनि भन्छ,’ एक सेवाग्राहीले अनलाइनखबरसँग भने ।
अनलाइन प्रणालीमा देखिएको समस्याका कारण समयमै विवरण पेस गर्न कठिनाइ भएको एक कम्पनीका प्रतिनिधिले बताए । ‘हामीलाई छुटको अधिकार दिएको छ । तर सिस्टम राम्रो नचलेकाले दुःख पाएका छौँ,’ ती प्रतिनिधिले भने ।
सरकारले कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भएका कम्पनीलाई पुराना विवरण अद्यावधिक गर्ने तथा कर, शुल्क, दस्तुर र जरिवानामा छुट दिने व्यवस्था गरेको छ । नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८३ को दफा ४८ मा यस्तो व्यवस्था गरिएको छ ।
कम्पनी रजिष्ट्रारको कार्यालयले गत असार ४ गते जारी गरेको सूचनाअनुसार कानुनले तोकेको समयभित्र विवरण पेस नगरेका, अद्यावधिक नगरेका वा बुझाउनुपर्ने कर, शुल्क, दस्तुर तथा जरिवाना नबुझाएका कम्पनीले कारोबार निरन्तरता दिन वा दर्ता खारेज गर्न चाहेमा विशेष छुट पाउने व्यवस्था गरिएको छ ।
उक्त व्यवस्थाअनुसार आर्थिक वर्ष २०८२/८३ का लागि कानुनबमोजिम लाग्ने कर, शुल्क, दस्तुर बुझाई सोही अवधिसम्मका आवश्यक विवरण २०८३ असोज मसान्तभित्र पेस गरेमा अघिल्ला आर्थिक वर्षको बाँकी कर, शुल्क, दस्तुर तथा जरिवाना मिनाहा हुने व्यवस्था छ ।
सोही सुविधाको लाभ लिन कारोबार जारी राख्न वा दर्ता खारेज गर्न चाहने कम्पनीलाई आर्थिक वर्ष २०८२/८३ भन्दा अघिल्ला आर्थिक वर्षका विवरण असोज मसान्तभित्र पेस गर्न कार्यालयले आग्रह गरेको थियो ।
सरकारले दिएको छुट सुविधाको लाभ लिन कम्पनीका प्रतिनिधिहरू विवरण पेस गर्ने प्रयासमा छन् । तर, अनलाइन प्रणालीमा देखिएको प्राविधिक समस्याले विवरण बुझाउने प्रक्रियामै अवरोध सिर्जना गरेको उनीहरूको गुनासो छ ।
समयसीमा नजिकिँदै गर्दा प्रणालीको समस्या समाधान नभए छुट सुविधाबाट वञ्चित हुनुपर्ने हो कि भन्ने चिन्ता सेवाग्राहीमा देखिएको छ ।
यद्यपि, अनलाइन प्रणालीमा देखिएको समस्याबारे कम्पनी रजिष्ट्रारको कार्यालयले आधिकारिक प्रतिक्रिया दिएको छैन । समस्या समाधानका लागि कार्यालयले के पहल गरिरहेको छ भन्नेबारे पनि जानकारी सार्वजनिक भएको छैन ।