बैतडी – बैतडीको सुर्नया गाउँपालिकास्थित सुर्नया युथ क्लबले आफ्नो पहिलो सामाजिक अभियान धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदा रौलाकेदार मन्दिरको संरक्षण र प्रवर्द्धनबाट सुरु गर्ने भएको छ।
क्लबका अध्यक्ष सुर्नया ४ पालिगडा घर भएका प्रकाश साउदका अनुसार रौलाकेदार मन्दिरको इतिहास, धार्मिक महत्व, सांस्कृतिक परम्परा तथा स्थानीय जनविश्वासलाई भावी पुस्तासम्म पुर्याउने उद्देश्यले तथ्यमा आधारित ऐतिहासिक वृत्तचित्र (डोकुमेन्ट्री) निर्माण गरिने साउदले जानकारी दिनु भयाे ।
मन्दिरको दीर्घकालीन संरक्षण, विकास तथा नियमित व्यवस्थापनका लागि “रौलाकेदार मन्दिर अक्षय कोष” स्थापना अभियान पनि सञ्चालन गरिने क्लबले जनाएको छ।
क्लबले अभियान सफल बनाउन मन्दिर व्यवस्थापन समिति, स्थानीय सरकार, बुद्धिजीवी, समाजसेवी, देश तथा विदेशमा रहेका सम्पूर्ण सुर्नयावासी तथा शुभेच्छुकहरूसँग साथ, सहयोग र सुझावको अपेक्षा गरेको छ।
“सशक्त युवा, समृद्ध सुर्नया” भन्ने नारासहित स्थापित सुर्नया युथ क्लबले “हाम्रो सम्पदा, हाम्रो पहिचान” अभियानअन्तर्गत रौलाकेदार मन्दिरको संरक्षण सबैको साझा दायित्व भएको उल्लेख गरेको छ।
क्लबका अध्यक्ष प्रकाश साउदले युवाको सक्रिय सहभागितामार्फत स्थानीय धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्याउने लक्ष्यका साथ पहिलो यात्रा रौलाकेदार मन्दिरबाट सुरु गरिएको जानकारी दिए।
सुदूरपश्चिमको प्रसिद्ध धार्मिक स्थल रहेको रौलाकेदारको प्रचारप्रसार सङ्गै इतिहास संरक्षणको लागि र प्रवर्द्धनको लागि यो अभियान निकै प्रभावकारी ठाहरिने विश्वास गरिएको छ ।
रौलाकेदार धाम हिन्दूहरुको धार्मिक आस्थाको धरोहर हो ।
रौलाकेदारको उत्पत्ति बद्रीकेदारबाट भएकाले रौलाकेदारको महत्व बद्रीकेदार जत्तिकै रहेको छ रौलाकेदारको दर्शन गरेमा मनोकामना पूर्ण हुने भएकाले सबैको आस्थाको केन्द्र बन्न पुगेको केदारका पुजारी बिष्ण दत्त भट्टले बताए ।
भगवान शिवका १२ ओटा ज्योर्तिलिङ्ग मध्ये रौलाकेदार पनि एक रहेको जानकारहरुले बताएका छन् । नेपालका प्रथम ऐतिहासिक जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले पनि रौलाकेदार नै केदारनाथ ज्योर्तिलिङ्ग भएको बताएका छन् । रावलाद्री पर्वतमा रहेको हुनाले रौलाकेदार नाम रहन गएको किम्वदन्ती रहेको छ । रौलाकेदराको दर्शन गरेमा बद्रीकेदारको दर्शन गरेजत्तिकै फल प्राप्त हुने जनविश्वास रही आएको छ ।