काठमाडौं ।
सुदूरपश्चिम कलाकार समाज काठमाडौंले सुदूरपश्चिम प्रदेशका मौलिक चाडपर्व, कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्दै राजधानी काठ्माण्डौँमा नियमित रूपमा विविध सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको छ ।
समाज स्थापना भएदेखि नै वैशाखदेखि चैतसम्मका १२ महिनाका सांस्कृतिक गतिविधिको वार्षिक कार्यतालिका तयार गरी सुदूरपश्चिमको मौलिक पहिचान झल्काउने कार्यक्रम सञ्चालन गर्दै आएको समाजले जनाएको छ । समाजले विशुपर्व, गौरा पर्व, ओल्के संक्रान्ति, माघे संक्रान्ति, पुसे १५, साउन १५ (खिर खाने दिन), असार १५ (रोपाइँ दिवस), दशैं विशेष कार्यक्रम, तिहारमा देउसी–भैलो तथा बुढी पोल्ने पर्वलगायतका कार्यक्रम आयोजना गर्दै आएको छ ।

यस्तै, डेउडा, ढुस्को, धुमारी, ठाडो खेल, छलिया नृत्य र भडाहा जस्ता सुदूरपश्चिमका मौलिक कला तथा संस्कृतिलाई काठमाडौंमा प्रदर्शन गर्दै समाजले सुदूरपश्चिमका हजारौँ व्यक्तिलाई एकै थलोमा जोड्ने काम गरेको छ ।
समाजका अध्यक्ष सुरेश बोहराले सुदूरपश्चिमको लोककला, भाषा, भेषभूषा र संस्कृतिको जगेर्ना गर्दै यसलाई देशव्यापी रूपमा विस्तार गर्ने उद्देश्यले संस्था निरन्तर सक्रिय रहेको बताए । यसैबीच, समाजको आज बसेको बैठकले आगामी बुढी पोल्ने पर्व तथा गौरा पर्वलाई भव्य रूपमा मनाउने निर्णय गरेको वरिष्ठ उपाध्यक्ष तथा लोकगायक भानुभक्त जोशीले जानकारी दिए ।

राजधानीमा बसोबास गर्ने सुदूरपश्चिमेली समुदायलाई आफ्नो मौलिक संस्कृति र परम्परासँग जोडिराख्न समाजले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको संस्थाका सचिव उमाशंकर जोशीले बताए । यस संस्थामा सुदूरपश्चिमका लोकपृय कलाकारहरु आवद्ध रहेको कोषाध्यक्ष शान्ती धामीले बताइन् ।